त्रिवि गोल्ड मेडल किनबेच प्रकरण: परीक्षा परिणाम फेरबदल गर्ने त्रिविका कर्मचारीसहित तीनविरुद्ध मुद्दा

Sharing is caring!

असार २४, २०७६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोल्ड मेडलका लागि परीक्षा परिणाम फेरबदल गर्ने तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ । परीक्षाको प्राप्तांक फेरबदल गरेको अभियोगमा त्रिवि परीक्षा नियन्त्रण कार्यालय गोप्य शाखामा कार्यरत शाखा अधिकृत रामबहादुर कर्माचार्य, भक्तपुर बहुमुखी क्याम्पस दूधपाटीका शिक्षक सुरेन्द्रप्रसाद कोइराला र केदार भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ ।

अख्तियारले छानबिनमा गर्दा भक्तपुर बहुमुखी क्याम्पस दूधपाटी भक्तपुरमा शिक्षण सहायक (आंशिक) पदमा कार्यरत शिक्षक सुरेन्द्रप्रसाद कोइरालाले परीक्षा नियन्त्रण कार्यालय बल्खुको गोप्य शाखामा कार्यरत रामबहादुर कर्माचार्यलाई १ लाख ५० हजार रुपैयाँ घुस दिई नम्बर थप्न लगाएको पाइएको छ । परीक्षा परिणाम फेरबदल गरेर गोल्ड मेडल किनबेच हुने उजुरी अख्तियारमा परेपछि कागजपत्र नियन्त्रणमा लिएर छानबिन थालेको थियो ।
कोइराला र पनिका बल्खुको गोप्य शाखाका प्रमुख रामबहादुर कर्माचार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेर अनुसन्धान गरेको थियो । धेरैजसो विषयमा उनी फेल भएको र सबैमा नम्बर थपेर उनलाई गोल्ड मेडलिस्ट बनाइएको अनुसन्धानमा खुलेको छ । अख्तियारको अनुसन्धानमा उनीहरूबीच आर्थिक लेनदेनको समेत प्रमाण भेटिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । छानबिन पूरा भएपछि उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको प्र्रवक्ता कोइरालाले जानकारी दिए ।

पेसाले अधिवक्ता कोइरालाले आफूलाई राष्ट्रपतिको हातबाट गोल्ड मेडल लिने रहर भएकाले पैसा तिरेर किनेको स्वीकार गरिसकेका छन् । न्यायाधीश बन्न सहयोग पुग्ने भएकाले समेत उनी ‘गोल्ड मेडलिस्ट’ बनेको खुलेको छ । कोइरालाले यसअघि चार विषयमा स्नातकोत्तर उत्तीर्ण गरिसकेका थिए । ती विषयमा पनि आर्थिक चलखेलकै आधारमा परीक्षा उत्तीर्ण गरेको समेत अनुसन्धानमा खुल्न आएको छ ।

परीक्षा नियन्त्रण कार्यालय गोप्य शाखाका रामबहादुर कर्माचार्यले विद्यार्थी कोइरालालाई स्नातकोत्तर तह अर्थशास्त्रमा नम्बर थपेर प्र्रथम श्रेणीमा उत्तीर्ण गराई गोल्ड मेडलिस्ट बनाएका थिए । नम्बर थपेर गोल्ड मेडलिस्ट भएका विद्यार्थी कोइराला सन् २०१९ मा दीक्षित भएका थिए । त्यस्तै, कोइरालाले ग्र्रामीण विकासमा प्रथम स्थान हासिल गरेको र समाजशास्त्र संकायमा परीक्षामा अनुपस्थित हुँदा हुँदै उत्तीर्ण भएको देखिएको छ ।
कागजपत्र छानबिन गर्दा परीक्षा नियन्त्रण कार्यालय गोप्य शाखाका अधिकृत रामबहादृुर कर्माचार्यले तीन संकायको १५ वटा पेपरमा ३ नम्बरदेखि १५ नम्बर थप गरी २२४ अंक थपिदिएका थिए । यसका लागि सुरेन्द्र कोइरालाले कर्माचार्य १ लाख ५० हजार रुपैयाँ घुस दिएका थिए ।
अर्का विद्यार्थी केदार भट्टराईले हासिल गरेको स्नातकोत्तर अर्थशास्त्र संकायको पाँचवटा पेपरमा १०-१० नम्बरका दरले ५० अंक थप गर्न सुरेन्द्रप्रसाद कोइरालामार्फत दिएको तीन लाख रुपैयाँ गरी जम्मा ४ लाख ५० हजार रुपैयाँ लिई रामबहादुर कर्माचार्यले भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । अख्तियारले कर्माचार्यलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ र दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको प्र्रमाणसहित ऐनको दफा १३ बमोजिम ४ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दर्ता गरेको छ ।

त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस भक्तपुर बहुमुखी क्याम्पस दूधपाटीले घुस लिएको दिएको देखिएको हुँदा भक्तपुरमा शिक्षण सहायक (आंशिक) पदमा कार्यरत रहेका शिक्षक सुरेन्द्रप्रसाद कोइरालाविरुद्ध ४ लाख ५० हजार रुपैयाँ असुल उपर गरी जफतसहित विशेष अदालतमा भ्र्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वरमा कामु प्रशासनिक अधिकृत छैटौं तहमा कार्यरत कर्मचारी केदार भट्टराईको हकमा अर्थशास्त्रमा पाँचवटा पेपरमा १०-१० नम्बरका दरले ५० अंक थप गर्न कोइरालामार्फत ३ लाख रुपैयाँ दिई रामबहादुर कर्माचार्यलाई थप गर्न लगाएकोले भट्टराईलालाई भ्रष्टाचार निवारण ऐनअन्तर्गत ३ लाख रुपैयाँ माग दाबीसहित विशेष अदालतमा मुद्दा दर्ता भएको छ । यो खबर राजधानीबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *