नेताहरुको पाप र धर्मको कुरा

Sharing is caring!

असार २, २०७५ । सत्तासिन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनताको पक्षमा काम गर्न सके हिजोका सबै पाप पखालिने बताउनुभयो । चितवनको भरतपुरमा पार्टी कार्यकर्ताहरुलाई प्रशिक्षण दिदै उहाले महान उदेश्यका साथ पार्टी एकिकरण भएको भन्दै एकताको महासागरले सबै पखालिने र मोक्ष प्राप्त हुने बताउनु भएको थियो ।

उहाले पाप पखाल्ने कुरा गरेको भोलीपल्टै राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले दुई तिहाई बहुमत भएको सर्वशक्तिमान वर्तमान सरकारले संविधान संशोधन नगरे पाप लाग्ने बताउनु भयो । केहि दिन अघि प्रदेश सभालाई संवोधन गर्ने क्रममा प्रधाानमन्त्री केपि शर्मा ओलीले पनि हामिहरु ऋषिमुनिका सन्तान धर्मात्मा रहेकोे भन्दै अब देश र जनताको पक्षमा काम गर्न सबै लाग्नु पर्ने बताउनु भएको थियो ।
२०४६ साल र २०६२-६३ को जनआन्दोलन बाट प्राप्त उपलब्धी पछिकोे समयसिमा भित्र हाम्रा राजनीतिक दल र ती दलका नेताहरुले देश र जनताप्रति गरेको वाचा पुरा गर्न के कति कर्म इमान्दारीताका साथ पुरा गरे भन्नेबारे विष्लेषण गर्दा आम जनतालाई सहज ढंगले पाप र धर्म छुट्टाउन गाह्रो नपर्ला ।

अनि भविश्यमा गर्ने कामले पहिलेको पाप पखालिएला कि नपखालिएल ? नेतृत्वमा रहेका नेताहरुले ऋषिमुनिको सन्तान भएको धर्म पुरा गरे कि गरेनन् भन्ने छुट्टाउन पनि गाह्रो नपर्ला । यो तीन दशकको अवधिमा नेपालमा भएका ठुला ठुला राजनीतिक परिवर्तन के का लागि थियो र के भइरहेको छ भन्नेबारे गहन रुपमा हेर्ने हो भने पनि नेताहरुको पाप र धर्म सजिलै छुट्टाउन सकिन्छ ।

२०४६ साल पछि अहिलेसम्म राष्ट्रिय राजनीतिको नेतृत्वमा रहने दलहरु मात्र हैन धेरै जसो नेताहरु पनि यीनै हुन् जो विगतको नेतृत्वले देश र जनताको हित गर्न सकेनन् भनिरहेका छन् । ठुलो दल साना भएका छन् साना दल ठुला भएका मात्र हुन । राष्ट्रिय राजनीतिमा अहिलेसम्म यीनिहरुले नै राज गरिरहेका छन् । दलिय स्वार्थ र व्यक्तिगत स्वार्थमा एक हुने हाम्रो देशको राजनीतिक पार्टी र नेताहरु देश र जनतालाई समृद्धिको दिशा तर्फ अघि बढाउने कुरामा कहिल्यै पनि एक भएको पाइदैन । तर देश र जनताको लागि भनेर कुरा गर्न भने कहिल्यै थाक्दैनन्।

२०४७ सालको संविधान विश्वकै उत्कृष्ट भन्ने यिनै नेता हुन । २०४७ सालको संविधान देश र जनताको हित हुदैन भनेर वर्षौ सम्म जनयुद्धको नाममा हत्या हिंसा मच्चाउने नेताहरु पनि यीनै हुन । देशमा संघीयता र गणतन्त्र चाहिन्छ भन्ने नेताहरु पनि यिनै हुन् ।
देशमा राजतन्त्र चाहिन्छ भन्ने नेताहरु पनि यिनै हुन् । संविधानसभाले जारी गरेको संविधान मान्दैनौ भन्ने नेताहरु पनि यीनै हुन् । अहिले यो गर्नहुन्छ र त्यो गर्न हुदैन भनेर देश र जनताको नाममा झगडा गरिरहने नेताहरु पनि यीनै हुन ।

संघीयता कार्यान्वयनअन्तर्गत पहिलोचरणमा स्थानीय, प्रादेशीक र संघीय निर्वाचन त सफलतापुर्वक सम्पन्न भयो । निर्वाचनपछि जुन अन्यौलता र अप्ठ्याराहरु देखापर्दै गएको यसले नेपालमा संघीय व्यवस्था टिक्छ की टिक्दैन भन्ने आशंका उब्जाएको छ । संघीय व्यवस्था अन्तर्गत जुन संरचना बनेको छ र त्यसलाई हेर्दा जति सहज तरीकाले मुलुकलाई समृद्धितर्फ डोहोरयाउन सजिलो हुने अनुमान गरिएको छ, ।
यसको कार्यान्वयन त्यतिनै जटिल बन्दै गएको छ । मुलुक संघीयतामा गए पनि नेताहरु केन्द्रमुखि बन्दै गएका छन भने २० वर्ष पछि निर्वाचन भएर चुनिएका स्थानिय सरकारका जनप्रतिनिधिहरुले पनि एकवर्ष सम्म सोचेजस्तो काम गर्न नसकेपछि केन्द्र सरकारलाई दोष लगाएर उम्कन खोजिरहेका छन् ।
चीनले बनाई दिएको संसद भवन राणाहरुले बनाइदिएको सिहदरवार मात्र हैन भारतले बनाइदिएको मन्त्री क्वाटरमा बसेर हाम्रा नेताहरु देश र जनतालाई आत्म निर्भर बनाउने सपना बाँडिरहेका छन् । संसद भवनको रुपमा प्रयोग भइरहेको नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र चीन सरकारले २०४८ सालमा बनाइदिएको हो ।
पहिलो संविधानसभाको निर्वाचनपछि यो भवनमा संविधानसभा बैठक र संविधान निर्माणपछि संसद बैठक बसिरहेको छ । प्रधानमन्त्री लगायत अन्य महत्वपुर्ण कार्यालय रहेको सिहदरवार चन्द्र शम्सेर राणाले बनाइदिएका हुन् । चन्द्रशम्सेरले आफ्नो छोरा कृष्ण शम्सेरलाई बनाइदिएको घरमा राष्ट्रपति कार्यालय छ । पुल्चोकमा रहेको मन्त्री क्वाटरको अधिकांश घरहरु पनि भारत सरकारले बनाइदिएको हो ।

दलिय स्वार्थ र व्यक्तिगत स्वार्थमा रुमल्लिएको नेपालको राजनीतिले यो संघीय संरचनाबाट आम जनताको हित गर्छ की नेता र कार्यकर्ताको मात्र हित गर्छ भन्ने कुरा थाहा पाउन अब धेरै कुर्नु पर्दैन । एक-दुई वर्ष भित्रै संघीय संचरनाले नेपाललाई कुन दिशातिर डोहोरयाउछ भन्ने कुरालाई स्पष्ट पार्ने छ ।

अहिलेको अवस्था हेर्दा पहिलो संविधानसभाको निर्वाचन पछि हालै सम्पन्न आम निर्वाचनसम्म राजनीतित दल तथा नेताहरुले १० वर्ष लगाएर तय गरेको संघीय संरचना स्वयं राजनीति दल र नेताहरुलाई गलपासो नै हुने हो की भन्ने आशंका पनि बढ्दै गएको छ । हाम्रा नेताहरुले दलिय र व्यत्तिगत स्वार्थलाई त्यागेर इमान्दारीताका साथ देश र जनताको पक्षमा काम नगरेसम्म फेरी पनि देश र जनताको नाममा अस्थिरता आइरहन्छ ।यो खबर आजको नेपाल समाचारपत्रबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *