कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

Sharing is caring!

साउन ४, २०८० । नेपाली कांग्रेसको मंगलबारबाट सुरु केन्द्रीय समिति बैठक आज पनि बस्नेछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा महामन्त्री गगनकुमार थापाद्वारा केन्द्रीय कार्यालयका तर्फबाट राखिएको एजेन्डा माथि सदस्यहरूले आ–आफ्ना धारणा राख्ने छन् । बुधबारको बैठकमा ४६ जना केन्द्रीय सदस्य तथा प्रदेश समितिका सभापतिहरूले आआफ्नो धारणा राखेका छन् ।

बैठकमा बोल्ने अधिकांश सदस्यहरूले पार्टी विधि र विधान अनुसार सञ्चालन हुन नसकेको भन्दै पार्टी नेतृत्वको आलोचना गरेका छन् । पार्टी सभापतिका साथै पदाधिकारीहरू पार्टी संगठनलाई बलियो बनाउन भन्दा गुटलाई संस्थागत गर्न सक्रिय भएको आरोप लगाउँदै सदस्यहरूले व्यक्ति होइन संस्था बलियो बनाउनेगरी लाग्न नेतृत्वलाई सुझाएका छन् ।

पार्टीमा अनुशासनहिनता मौलाएको गुनासो गर्दै केन्द्रीय पदाधिकारी देखि सबैले आफ्नो जिम्मेवारी पुरा गर्नुको साटो अरुलाई आरोपित गर्न मात्र लागि परेको विचार राखेका थिए ।

पार्टीका भ्रातृ संगठनलाई पूर्णता दिन नसक्दा तल्लो तहको संगठन कमजोर बनेको धारणा सदस्यहरूले राखेका छन् । साथै, प्रदेश सभापतिहरू संविधान र पार्टी विधानको व्यवस्था अनुसार संघीय संरचनालाई केन्द्रीय नेतृत्वले स्विकार गर्न नसकेको गुनासो गरेका छन् ।

मंगलबारबाट सुरु भएको बैठकमा महामन्त्री थापाले २०८० को साउनदेखि २०८१ को असार मसान्तसम्म एक वर्ष गर्ने गतिविधि समेटिएको वार्षिक क्यालेन्डरसहितका एजेन्डाहरू पेस गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *