कांग्रेस केन्द्रीय समिति ४ चैतमा, पौडेल—सिटौला समूह बहिष्कारको तयारीमा

Sharing is caring!

फागुन २४, २०७५ । १० माघबाट सुरु भएर बीचमा स्थगित भएको नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आगामी ४ चैतका लागि बोलाइएको छ ।

१२ फागुनमा बसेको केन्द्रीय समितिबाट विधानलाई बहुमतबाट पारित गरेपछि कांग्रेसले १४ फागुनमा बस्ने गरी अर्को बैठक बोलाएको थियो । तर, कांग्रेसभित्रका दुई गुट रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहले बहिष्कार गर्ने तयारी गरेपछि सभापति शेरबहादुर देउवाले बैठक स्थगित गरेका थिए । सभापतिले एकपक्षीय रूपमा निर्णय लिन लागेको भन्दै दुवै समूहले फेरि पनि बैठक बहिष्कारको तयारी गरिरहेको छ ।

४ गतेको बैठकमा सभापति देउवाले अनुशासन समितिसहित निर्वाचन समिति गठनको प्रस्ताव केन्द्रीय समितिमा ल्याउने तयारी गरेपछि इतर समूहले त्यस बखतसमेत बैठक बहिष्कारको तयारी गरेको थियो ।

इतर समूहले अझै पनि पार्टी नेतृत्वले पार्टीको विधानलाई बहुमत र अल्पमतका आधारमा केन्द्रीय समितिबाट पास गराएको तथा एकतर्फी रूपमा अनुशासन समिति र निर्वाचन समिति गठनको प्रस्ताव ल्याउने तयारी गरेको भन्दै कस्तो रणनीति बनाउने भन्नेमा छलफल जारी राखेको छ ।

उनीहरूले सहमतिबाट दुवै समिति बनाउन संस्थापन पक्ष तयार भए बैठकमा सहभागी हुने नभए बैठक बहिष्कार गर्ने बताउँदै आएका छन् ।

नेता अर्जुननरसिंह केसीले अनुशासन समिति जस्तो न्यायिक निकायमा आमकार्यकर्ताले विश्वास गर्ने व्यक्तिलाई नेतृत्व दिइनुपर्ने भन्दै सहमतिको बाटोबाट मात्रै बैठकमा सहभागी हुने संकेत गरे ।

‘अनुशासन समितिजस्तो न्यायिक निकायमा आमपार्टीका नेता कार्यकर्ताले विश्वास गर्ने व्यक्तिलाई नेतृत्व दिइनुपर्छ । गुटका आधारमा आफूनिकट मान्छेलाई बनाउँदा त्यसले न्याय गर्न सक्दैन,’ नेता केसीले भने, ‘सहमतिको प्रयास भए बैठक अघि बढ्छ ।’

तर, संस्थापन निकट मानिने नेता रमेश रिजालले भने पार्टीलाई बन्धक बनाएर राख्न नसकिने भन्दै कोही नआउँदैमा बैठक नरोकिने बताए ।

‘को आउने को नआउने भन्दा पनि अब बैठकलाई बन्धक बनाएर राख्नुहुँदैन भन्ने हो । बैठक अघि बढ्छ,’ नेता रिजालले भने ।

देउवाले भने यस बीचमा सहमतिका लागि औपचारिक बैठक नबोलाएको पौडेल—सिटौला समूहले बताउँदै आएको छ । अनुशासन समितिको संयोजक आफ्नै समूहबाट बनाउन उनकै समूहका नेताले सभापति देउवालाई दबाब दिँदै आएका छन् ।

स्रोतका अनुसार देउवाले अनुशासन समितिको संयोजक आफू निकट नेता भीष्मराज आङदाङ्बेलाई बनाउन चाहेका छन । यस्तै, निर्वाचन समितिमा खमबहादुर खाती र गोपालकृष्ण घिमिरेलाई ल्याउने उनको तयारी रहेको बुझिएको छ ।यो खबर राजधानीबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *