उपभोक्ता संरक्षण महासंघले भन्यो : देशबाट कालोबजारी निर्मुल पार्नुपर्छ

Sharing is caring!

साउन २६, २०८० । नेपाली उपभोक्ता संरक्षण महासंघले संस्थाको दोस्रो वार्षिकोत्सवको अवसरमा उपभोक्ताका समस्याहरू, मुल्यवृद्धि नियन्त्रणलगायतका मागहरू राखेर आफ्नो धारणा सार्वजनिक गरेको छ ।

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलन उपभोक्ताका समस्याहरू, मूल्य बृद्धि नियन्त्रणलगायतका मागहरू सरकारसँग राखेको छ । नेपाली उपभोक्ता संरक्षण महासंघका उपाध्यक्ष अर्जुन श्रेष्ठले कालोबजारी नगरिकन कुनै कामै हुँदैन भन्ने कुरा बजारमा छ्यापछ्याप्ती रहेको र त्यसको नियन्त्रणका लागि आफूहरूलाई सबैको सहयोग चाहिने बताए। उनले संस्थाले जादुमय तरिकाले नभइ बिस्तारैबिस्तारै परिवर्तन गर्ने दाबी गरे।

अधिवक्ता विष्णु गिरीले नेपाली उपभोक्ता संरक्षण महासंघका साँच्चिकै नेपाली उपभोक्ता हकहितका र अधिकारका लागि स्थापना भएको बताए। उनले महांसघ संगठित रूपमा उदाएको संस्था भएको बताउँदै उपभोक्ता ठगीमा परेको बेला होस् या अन्याय र अत्याचारमा परेको बेला आफ्नो कुराहरू उठाउँदै आएको दाबी गरे। उनले जबसम्म उपभोक्ताहरू सचेत हुँदैनन् तबसम्म देश समृद्धिमा जान नसक्ने दाबी पनि गरे ।

उपभोक्ता काजीबहादुर कार्की नेताहरूले उपभोक्ताको कुरा सुन्न सक्नुपर्ने बताए । आफू काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाको निर्वाचनमा उम्मेद्वार भएको बताउँदै उनले नेताहरू देश र जनताको लागि बोल्नुपर्ने बताए ।
संस्थाका केन्द्रीय सचिव सोवित गिरीले ‘जबदेखि आमाको गर्भमा हुन्छौं तबदेखि हामी सबै उपभोक्ता’ भएको बताए । उनले सम्पूर्ण विशिष्ट व्यक्तिहरू त्यो ओहोदा नपुग्दासम्म सबै उपभोक्ता भएको बताए।

केन्द्रीय अध्यक्ष चन्द्र साउदले नेपालीहरूले स्वस्थ्य खाना खान पाउनुपर्ने र स्वस्थ्य प्रतिष्पर्धा गर्न पाउनुपर्ने बताउँदै देशमा भ्रष्टाचार र कालोबजारी निर्मुल हुनुपर्ने बताएका छन्।

उनले अधिकारसम्पन्न उपभोक्ता समिति र उपभोक्ता मन्त्रालय गठन हुनुपर्ने माग गरे। सर्वोच्च अदालतले उपभोक्ता अदालत गठन गर भने आदेश दिएको तर सरकारले नमानेको उनले बताए । उनले साल्ट ट्रेडिङले खुवाएको नुनमा पनि विषादी र भ्रष्टाचार भएको आरोप लगाए।

पूर्व मेयर दुर्गा कुमार थापाले विभिन्न देशहरूले छोटो समयमै विकासको कायापलट गरेको बताए। जुन देशमा भ्रष्टाचार हुन्छ त्यो देशमा जतिसुकै पैसा लगानी गरेपनि त्यो देशको विकास नहुने बताउँदै उनले भने,‘हाम्रो देशमा पैसा नभएर, योजना नभएर हाम्रो देश विकास नभएको हैन।’

वातावरणविद् डा. सागर ढकालले संस्थाले नेपाली माटो सुहाउँदो कार्यक्रम गर्न खोजेको र त्यसमा सबैले सहयोग गर्नुपर्ने बताए । उनले पूर्खाहरूले दिएको ज्ञान÷विज्ञानलाई आफूहरूले उपभोक्ताहरूको प्रयोगमा लगाउनुपर्ने बताए।
उनले संसारकै सबैभन्दा उत्कृष्ट उपभोक्तासँग सम्बन्धित विज्ञान नेपालमा पाइने दाबी गरे।

कार्यक्रममा नेपाली उपभोक्ता संरक्षण महासंघका अध्यक्ष चन्द्र साउद, उपाध्यक्ष लक्ष्मी शर्मा, उपाध्यक्ष अर्जुन श्रेष्ठ, उपाध्यक्ष अजय महतो, उपमहासचिव तथा प्रवक्ता लोमणी कार्की र अधिवक्ता विष्णु गिरीलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *