आइतबार दुई अध्यक्षले पार्टी एकीकृतको सन्देश दिने

Sharing is caring!

वैशाख ८, २०७५ । औपचारिक एकता घोषणा नभए पनि नेपाल कम्युनिष्ट पार्टी स्थापनाका दिन आइतबार दुई ठूला कम्युनिष्ट पार्टीका शीर्ष नेताले आफूहरु चाँडै एकीकृत हुने ठोस् सन्देश दिने भएका छन् ।

सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सकेसम्म वैशाख ९ गते नै एकता गर्न करीब सहमत भए पनि केही विषय टुंगो लगाउन बाँकी रहेको भन्दै औपचारिक एकता घोषणा नगरी संयुक्त कार्यक्रमबाट उक्त सन्देश दिन जुटेका हुन् । पार्टी एकता संयोजन समितिको आयोजनामा राष्ट्रियसभा गृहमा मध्यान्ह १२ बजे हुने कार्यक्रममा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत शीर्ष नेताले सम्बोधन गर्नुहुनेछ । “एकता टरेको होइन, यो कसैले टार्न सक्दैन, तयारी नपुगेर केही समयपछि सरेको मात्र हो ।” यो सन्देश दुबै अध्यक्षले सो सभामा दिनुहुनेछ ।” एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

गत असोज १७ मा एकीकृत कम्युनिष्ट पार्टी निर्माणको घोषणासहित चुनावी गठबन्धन हुँदै संघीय संसद्मा बहुमत हासिल गरी नयाँ सरकारसमेत बनाइसकेका एमाले र माओवादी केन्द्र एकताबाट पछि हट्न नसक्ने दुबै दलका नेताले पटक÷पटक जनाउँदै आएका छन् । स्थिर सरकार, सुशासन र विकासको लक्ष्यसहित निर्वाचनलगत्तै एकता गर्ने प्रतिबद्धता चुनावी घोषणापत्रमा भएको र त्यसलाई कार्यकर्ता र जनताले अनुमोदन गरिसकेकाले यसबाट पछि हट्न नमिल्ने विश्लेषकहरुको पनि बुझाइ छ ।

दुई दलबीच नेता माधवकुमार नेपालको संयोजकत्वमा गठित संगठन र नेता रामबहादुर थापा बादलको संयोजकत्वमा रहेको वैचारिक कार्यदलले तयार गरेको अन्तरिम विधान र अन्तरिम राजीतिक प्रतिवेदनलाई अन्तिमरुप दिन यही वैशाख ४ गतेको एकता संयोजन समितिको बैठकले अध्यक्ष ओली र दाहाललाई जिम्मेवारी दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *