अवैध सुनको अनुसन्धान गर्न जिम्मा ‘सिआइबी’लाई

Sharing is caring!

साउन २०, २०८० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक क्विन्टल सुन तस्करीको अनुसन्धान प्रहरीबाट गर्न निर्देशन दिनुभएको छ । सुन तस्करी प्रकरण संगठित अपराध र अन्तरदेशीय अपराध भएकाले त्यसको जरैसम्म पुग्ने गरी प्रहरीमार्फत अनुसन्धान गर्न प्रधानमन्त्री दाहालले निर्देशन दिनुभएको हो । उच्च सरकारी स्रोतका अनुसार, बिहीबार साँझ गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रक्षामन्त्री पूर्णबहादुर खड्का, महान्यायाधिवक्ता दीनमणि पोखरेल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सिआइबी प्रमुख किरण बज्राचार्य र राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाबीच बसेको बैठकपछि थप अनुसन्धान सिआइबीमार्फत गर्न प्रधानमन्त्री दाहालले निर्देशन दिनुभएको थियो ।

छलफलमा सहभागी महान्यायाधिवक्ता पोखरेलले प्रधानमन्त्री दाहालले अनुसन्धानको कानुनी पाटोबारे जिज्ञासा राखेपछि संगठित अपराध देखिएपछि नेपाल प्रहरीमार्फत अनुसन्धान गर्नुपर्ने राय राखेको जानकारी दिनुभयो । लगत्तै प्रधानमन्त्री दाहालले राजस्व चुहावटको विषयमा विभागले मुद्दा अघि बढाउने र संगठित अपराधको पाटोमा सिआइबीले थप अनुसन्धान गर्न निर्देशन दिएको उहाँको भनाइ छ । राजस्व अनुसन्धान विभागले ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पार गरेर बाहिरिएको सुन सहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । यसमा चिनियाँ, भारतीय र बेल्जियन नागरिकसमेत पक्राउ परेका छन् ।

विभागले हालसम्म राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार अनुसन्धान अघि बढाइरहेको थियो । तर, सुन प्रकरणमा संगठित गिरोहको संलग्नता र यसमा भारत र चिनियाँ सुरक्षा निकायसँग समेत समन्वय गरेर विस्तृत अनुसन्धान गर्नुपर्ने भएकाले सिआइबीमार्फत अघि बढाउने निर्णय भएको स्रोतले जनाएको छ । छलफलमा सहभागी एक अधिकारीका अनुसार, राजस्व अनुसन्धान विभागमार्फत राजस्व छलीको कसुरमा अनुसन्धान जारी रहन्छ भने संगठित अपराधको कसुरमा सिआइबीले बृहत् अनुसन्धान गर्नेछ । विभाग आफैँ प्रधानमन्त्री मातहतको निकाय हो ।

स्रोतका अनुसार छलफलमा उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले सुन तस्करी संगठित अपराध भएकाले त्यसको अनुसन्धान प्रहरीमार्फत हुँदा प्रभावकारी र अपराधको मूलसम्म पुग्न सकिने बताउनुभएको थियो । त्यसपछि महान्यायाधिवक्ता पोखरेलले विभागबाट भइरहेको अनुसन्धान एउटा तहमा पुगेको र त्यसलाई अझ बलियो र संगठित गिरोहसम्म पुग्न संगठित अपराधका दफा लगाएर अघि बढ्न सुझाव दिनुभएको थियो ।

प्रहरी महानिरीक्षक कुँवरले पनि सुन तस्करी मात्र नभएको यो संगठित अपराध र अन्तरदेशीय अपराध मात्रै नभएर आतंकवादी गतिविधिमा संलग्न गिरोहको समेत संलग्नता भएको हुनसक्ने र यसको बृहत् अनुसन्धान प्रहरीबाट हुँदा प्रभावकारी हुने धारणा राख्नुभएको थियो ।

यसैबीच, प्रधानमन्त्री प्रचण्डले सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०लाई दिनु अहिलेसम्मको उच्चस्तरीय छानविन भएको बताउनुभएको छ । शुक्रबार प्रज्ञा भवन कमलादीमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले सुन तस्करी प्रकरण संगठित र अन्तरदेशीय अपराधजस्तो देखिएकाले सम्पूर्ण अनुसन्धानको जिम्मेवारी सिआइबीलाई दिएको र यो अहिलेसम्मको उच्चस्तरीय छानविन भएको बताउनुभएको हो ।

उहाँले अब राजस्व अनुसन्धान विभागले अहिलेसम्मको सम्पूर्ण अनुसन्धान सिआइबीलाई उपलब्ध गराएर दुवै निकायले मिलेर अनुसन्धान गर्ने जिकिर गर्नुभयोे । प्रधानमन्त्री प्रचण्डले सुन तस्करी प्रकरण र छानविनमा कुनै प्रकारको राजनीतिक हस्तक्षेप नहुने पनि प्रष्ट पार्नुभयो । अनुसन्धानको प्रक्रियामा जोसुकै आए पनि अगाडि बढ्न निर्देशन दिएको भन्दै आफ्नै नाम आए पनि अनुसन्धान अघि बढाइने उहाँको भनाइ थियो । यो खबर हिमालय टाईम्सबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *