अपहरण शैलीमा कार्यकर्ता पक्राउ गरेको भन्दै शाही युवा शक्ति, नेपालको आपत्ति

Sharing is caring!

बैशाख १७, २०७६ ।  शाही युवा शक्ति, नेपालले पक्राउ परेका आफ्ना कार्यकर्ताहरुको अबिलम्ब रिहाई नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

आज राजधानीमा पत्रकार सम्मेलन गर्दे शाही युवा शक्ति नेपालले यस्तो चेतावनी दिएको हो । काठमाडौंको गोगंवु–बानियाँटारबाट आज बिहान पक्राउ परेका केन्द्रिय सदस्य बिनोद केसी, राम प्रसाद सुवेदी, मिन बहादुर क्षेत्री र दिपेश खड्कालाई अपहरण शैलीमा घरैबाट पक्राउ गरेको भन्दै घोर आपत्ति जनाएको छ ।

कार्यक्रममा बोल्दै शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले राज्यबाट नागरिकको आम स्वतन्त्रतालाई कुण्ठित पार्ने काम भएको आरोप लगाए । देशका विभिन्न अपराध र बिसंगतिहरु ब्याप्त रहेको भन्दै उनले नागरिकका अधिकारहरु राज्यले दबाउन नहुने सुनाए ।

आफ्ना कार्यकर्तालाई घरभित्रै छिरेर अपहरण शैलीमा पक्राउ गरिएको भन्दै उनले सरकारलाई निःशर्त रुपमा छोड्न चौबिस घण्टे अल्टिमेटम पनि दिएका छन ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले निरंकुशवादी सोच र व्यवहार बढाएको भन्दै उनले देशमा ब्याप्त बिसंगति र बिकृतिका बारेमा आवाज उठाउँदा आफुहरुमाथि दमन गर्न खोजेकोे उनको आक्रोश छ ।

शाही युवा शक्ति नेपालले स्थापना कालदेखिनै नेपालमा गणतन्त्र र संघीयता खारेज हुनुपर्ने माग राख्दै आएको बताउदै उनले नेपाल अखण्ड हिन्दु राज्य हुनुपर्नेमा जोड दिए ।

अहिले दलीय निरंकुशता बढ्दै गएको बताउँदै खड्काले संसारकै स्वतन्त्र देशका नागरिकलाई अधिकारबाट बिमुख बनाउने खेल भईरहेको पनि आरोप लगाए ।

अहिले गणतन्त्रको नाममा नेपालमा लुटतन्त्र कायम रहेको बताउदै उनले जनतामा रहेको भ्रम चिर्नु आफुहरको कर्तव्य भएको पनि स्पष्ट पारे ।

हिजो प्रधानमन्त्रीको पुत्ला जलाउदा प्रधानमन्त्रीलाई नै जलाएकोजस्तै गरेर घरबाटै आफ्ना साथीहरु पक्राउ गर्ने सरकारको मानसिकता कमजोर बन्दै गएको उनको भनाई छ ।

राजसंस्थाको बारेमा प्रधानमन्त्री ओली र सरकारका प्रवक्ता गोकुल बास्कोटाले आपत्तिजनक अभिव्यत्ति दिईरहेकोमा आफूहरु गम्भिर रहेको उनले बताए ।

सरकारले प्रहरीको दुरुपयोग गर्दे आफुहरुलाई दवाउन खोजेपनि अव नेपाली जनताले त्यसको मुल्य चुकाउन बेर नलगाउने उनको भनाईे थियोे ।

अब नेपाली जनताले राजसंस्था पुनस्थापनको लागि सडकमा आउने समय भैसकेको बताउदै उनले नेपालमै भएको नेपालीको बिचल्ली कुनैपनि हालतमा सहन नसकिने पनि जानकारी गराए ।

आफ्ना कार्यकर्तालाई तुरुन्त रिहा नगरे देशभरि नै आन्दोलनका कार्यक्रम शुरु हुनेपनि उनले चेतावनी दिए ।
जनताको धैर्यताको बाँधलाई कुनैपनि हालतमा सरकारले रोक्न नसक्ने भन्दै उनले अब हरेक घरमा प्रधानमन्त्री ओलीको पुत्ला जलाउन नपरोस भन्दै चेतावनी पनि दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *