यार्सा संकलनमा नेपालीलाई निषेध तर भारतीयलाई छुट !

Share this news:

जेठ १७, २०७५ । नेपाली क्षेत्रमा भारतीय नागरिकले यार्सा संकलन गर्न पाउने तर नेपालीहरुले नपाउने भन्दा सबैले पत्याउन सक्दैनन् । तर यस्तो पत्याउनै नसकिने चलन छ दार्चुलाको व्यास गाउँपालिकामा । व्यास गाउँपालिकाको वडा नम्बर १ अपिहिमाल क्षेत्र र वडा नम्बर २ राप्लाको दुधिवन क्षेत्रमा सो क्षेत्रका नागरिकले मात्रै यार्सा संकलन गर्न पाउँछन् ।

अपिनाम्पा संरक्षण क्षेत्रभित्र पर्ने यी दुई वनमा स्थानीय सौकास समुदाय बाहेक कुनै पनि नागरिकलाई यार्सा संकलन गर्न दिइँदैन । त्यति मात्रै नभएर सामाजिक, साँस्कृतिक, परम्परागतका साथै वंशीय सम्बन्ध रहेका भारतीय नागरिकहरुलाई ती क्षेत्रमा यार्सा संकलन गर्न दिइन्छ भने अन्य समुदायका नेपालीहरुलाई उक्त क्षेत्रमा यार्सा संकलन गर्न दिइँदैन । यद्यपी सो क्षेत्रमा भारतीय गब्र्याङ् र बुँदीका सौका समुदायका नागरिकले भने निर्बाध रुपमा यार्सा संकलन गर्न पाउँछन् ।

राप्लाको दुधिवन क्षेत्रमा वडा बाहिरका मान्छेको घुसपैठ रोक्नका लागि केही कडा नियम पनि बनाइएका छन् । वडा नम्बर २ राप्लामा बसाइसराई गरी आएका नयाँ परिवारलाई पाँच वर्षसम्म दुधिवन क्षेत्रमा यार्सा संकलन गर्न रोक छ । बसाईसराई भएको ५ वर्षपछि मात्रै स्थानीयवासी जस्तै ती परिवारले दुधिवनमा यार्सा टिप्न पाउने स्थानीय जीवनसिंह बुढाथोकीले बताए ।

दुधिवन क्षेत्रमा ५÷६ सय स्थानीय यार्सा संकलनका लागि जान्छन् । ‘एउटै घरबाट धेरै जना पनि जान मिल्छ तर वडाबाहिरको जान पाउँदैन’ राप्ला दुम्लिङका स्थानीय धिरेन्द्रसिह महराले भने । सामाजिक र साँस्कृतिक सम्बन्ध भएपनि भारतीयलाई संकलन गर्न दिने र नेपालीलाई नदिने कुरा नसुहाएको जिल्ला समन्वय समितिका प्रमुख करबीरबहादुर कार्कीले बताए । ‘प्राकृतिक स्रोतमा सबै नागरिकको हक हुन्छ, कसैको निजी हुँदैन तसर्थ सबै नागरिकले यार्सा संकलन गर्न पाउनु पर्छ ।’ प्रमुख कार्कीले भने ।

अपिनाम्पा संरक्षण क्षेत्रका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले भने ‘यार्सा संकलनमा कतैबाट पनि अवरोध भएको गुनासो आएको छैन, स्थानीयस्तरमा समझदारी गरेर यार्सा संकलनको क्षेत्र छुट्याइएको होला’ उपाध्यायले भने, ‘कानुनी रुपमा यार्सा संकलनको अनुमति लिएकालाई कसैले पनि वनक्षेत्रमा प्रवेशमा रोक लगाउन सक्दैन ।’

भारतीय पाटन क्षेत्रमा नेपालीहरु पनि यार्सा संकलन गर्न जाने र नेपाली पाटन क्षेत्रमा भारतीयहरु पनि संकलन गर्न आउने गरेकाले यार्सा संकलन कै नाममा यो सम्बन्ध बिगार्नु नहुने सौका समुदायका अगुवाहरुको भनाइ छ ।

भारतमा बसोबास भए पनि परम्परागत रुपमा उपभोग हुँदैआएको वनक्षेत्र भएकाले भारतीय नागरिकले पनि अपि हिमाल क्षेत्रमा यार्सा संकलन गर्दैआएका छन् । स्थानीयवासी र व्यासी समुदायका नागरिकले मात्रै यार्सा संकलन गर्न पाउने नियम स्थानीयवासी आफैँले बनाएका हुन् । व्यास गाँउपालिका वडा नम्बर १ को जनसंख्या करिब ७ सय मात्रै छ ।

व्यास गाँउपालिकाको वडा नम्बर २ राप्लाको दुधिवन क्षेत्रमा पनि वडा नम्बर २ का वासिन्दाले मात्रै यार्सा संकलन गर्न पाउने व्यवस्था गरिएको छ । धेरै वर्षदेखि स्थानीयवासीको सामाजिक निर्णयले यस्तो हुँदैआएको व्यास गाँउपालिकाका प्रवक्ता धिरनसिह बुढाथोकीले बताए ।

स्थानीयस्तरमा प्राकृतिक स्रोत साधनको संरक्षण र उपयोगमा स्थानीयावासीकै अग्राधिकार भएको राप्लाको दुम्लिङका वासिन्दा जीवनसिह बुढाथोकीको भनाई छ । व्यास गाँउपालिकाको वडा नम्बर २ अर्थात साविकको राप्ला गाविसभरीका स्थानीयले मात्रै दुधिवनमा यार्सा संकलन गर्दछन् । वडाभरी २ सय ६० घरधुरी छन् । सबै घरधुरीका बासिन्दाले यार्सा संकलन गर्दैआएको वडाअध्यक्ष एवं गाँउपालिकाका प्रवक्ता धिरनसिंह बुढाथोकीले बताए ।यो खबर आजको नयाँ पत्रिकामा पदम बडालले लेख्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *