मानव बेचबिखन प्रभावितहरुको चौथो राष्ट्रिय भेला सम्पन्न

Sharing is caring!

भदौ २०, २०७६ । मानव बेचबिखन प्रभावितहरुको चौथो राष्ट्रिय भेला सम्पन्न भएको छ । यही भदौ १८ र १९ गते शक्ति समूहको आयोजना र एट्विनको सह–आयोजनामा भएको राष्ट्रियस्तरको मानव बेचबिखन प्रभावितहरुको चौथो राष्ट्रिय भेला–२०७६ ले २२ बुँदे घोषणपत्र सार्वजनिक गरेको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर उक्त भेलाको बारेमा जानकारी गराईएको हो । मानव बेचबिखन विरुद्धको तेह«ौं राष्ट्रिय दिवस, २०७६ को अवसरमा आयोजित उक्त भेलमा ७ वटै प्रदेशहरुबाट सहभागिता रहेको आयोजकले जनाएको छ । भेलामा १०३ जना बेचबिखनबाट प्रभावितहरुलगायत ३०३ जना सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

भेलामा उठाईएका मुद्दाहरुका विषयमा नेपाल सरकार, राजनीतिक दलहरु तथा सम्बन्धित सरोकारवालाहरुको गम्भिर ध्यानाकार्षण गराउँदै तीनको अविलम्ब कार्यान्वयनको लागि पनि माग गरिएको छ । ललितपुरको जावलाखेलमा अवस्थित् स्टाफ कलेजमा सम्पन्न उक्त भेलामा सात वटा प्रदेशबाट सहभागी भएका सहभागीहरुबाट नै राष्ट्रियस्तरको प्रभावितहरुको सञ्जाल गठन भएको र सञ्जालको मुख्य नेतृत्व शक्ति समूहकी चरी माया तामाङ्गले गरेकी छिन् ।

भेलामा निर्माण गरिएका १७ जनाको तदर्थ समितिले प्रत्येक सात वटा प्रदेशस्तरीय संजाल गठन गर्ने कार्यलाई पनि अगाडि बढाउने संयोजक तामाङ्गले जनाईन् । मानव बेचबिखन प्रभावितहरुको चौथो राष्ट्रिय भेला–२०७६ को नाममा जारी गरिएको विज्ञप्तीमा भनिएको छ,‘नेपालभरि नै पहिलोपटक, पहिलो प्रभावितहरुको राष्ट्रियस्तरको सञ्जाल निर्माणको कार्य यस भेला मार्फत सुरुवात भएको छ । आजसम्म मानव बेचबिखन विरुद्धमा कार्य गर्ने संघ संस्थाहरुले प्रभावितहरुको लागि वकालत गर्दै आईरहेको कुरा हामीमाँझ अवगत नै छ । र, आजको दिनबाट बेचबिखनविरुद्ध यो सञ्जालले पनि हातेमालो गर्नेछ ।’

उक्त भेलाद्धारा निर्माण गरिएका संजालले प्रभावितहलाई सुरक्षित मञ्च प्रदान गर्ने पनि संयोजक तामाङ्गले बताईन् । उनले भनिन्,‘यो संजाल प्रभावितहरु स्वतन्त्र भई आफने अधिकारका लागि आफैंले नै वकालत तथा पैरवी गर्न अघि बढ्नेछ ।’
चौथो भेलाले समानान्तर प्रकारको संजाल निर्माण राष्ट्रियस्तर र प्रदेशस्तरमा मात्रै नभई जिल्लास्तरमा र स्थानीयस्तरमा पनि ईकाई समूहको रुपमा गठन गरि मानव बेचबिखन प्रभावित महिला र बालबालिकालाई प्राथमिकतामा राखि कार्यहरु अघि बढाउने निर्णय गरेको उनले जनाईन् ।
संयोजक तामाङ्गका अनुसार गठित संजालको मुख्य कार्य प्रभावितहरुलाई कानुनी वकालत, उद्धार, स्वदेश फिर्ती, पुर्नस्थापना र तिनै तहका सरकारसँग वकालत तथा परैवी गर्ने हो । उनले भनिन्,‘संजालले प्रभावितहरुलाई उद्धार गर्ने र उद्धार गरिएका प्रभावितहरुलाई छिटोभन्दा छिटो स्वदेश फिर्तीका कार्यमा नेपाल सरकारलाई दबाब सिर्जना गर्ने काम पनि गर्दछ ।’ उनकाअनुसार भेलाबाट निर्माण गरिएको राष्ट्रियस्तरको संजालको मुख्य सचिवालय शक्ति समूहको मुख्य कार्यालयमा रहनेछ ।

उनले संजालले मानव बेचबिखनजस्तो जघन्य अपराधलाई निरुत्साहित गर्ने राष्ट्रियस्तरको अभियानलाई सफल पार्ने मुख्य उद्देश्य लिएको सुनाईन् । उनले मानव बेचविखन किन हुन्छ ? र को–को ? यसबाट सिकार हुन्छन् ? भन्नेबारे प्रकाश पारेकी थिईन् । उनकाअनुसार रोजगारीको सिलसिलामा विदेशिएकाहरु नै यसबाट बढि प्रभावित भएका छन् ।

कार्यक्रममा महिला तथा बालबालिका बेचविखनविरुद्धको सहकर्मी समूह नेपालकी अध्यक्ष अञ्जना शाक्यले आफ्नो संस्थाले सुरुदेखिनै शक्ति समूहलाई सहयोग गर्दै आएको र अहिलेसम्म त्यो सहयोग जारी रहेको सुनाईन् ।

शक्ति समूहकी अध्यक्ष बालकुमारी दर्लामीले शक्ति समूहले गर्दै आएका कामकारबाहीका बारेमा प्रकाश पारेकी थिईन् । त्यस्तै, उनले शक्ति समूहको आयोजना र महिला तथा बालबालिका बेचविखनविरुद्धको सहकर्मी समूह नेपालको सह–आयोजनामा भएका पहिलो भेलादेखि अहिलेको चौथो भेलाको बारेमा पनि स्पष्ट पारेकी थिईन् ।

उनले भेलाको मुख्य उद्देश्यको बारेमा पनि प्रकाश पारिन् । उनले भनिन्,‘बेचबिखनबाट प्रभावितहरुको लागि एउटा शक्तिशाली नेटवर्क आवश्यकत्ता थियो, त्यही भएर भेला गर्दै आएका थियौं । अहिले चौथो भेलामा आएर सञ्जाल गठन भयो । बेचविखनविरुद्ध सशक्त आवाज उठाउनको लागि भेला गरिएको हो ।’

उनले बेचविखनबाट प्रभावितहरुलाई सशक्तीकरण गर्न र प्रभावितहरुको अधिकार सुनिश्चितता गर्नको लागि वकालत, बहस पैरवी गर्नपनि संजालले काम गर्ने सुनाईन् । शक्ति समूहले मानव बेचबिखन प्रभावितहरुको भेला सन् २००७, २००८ र २०१४ मा क्रमशः पहिलो, दोस्रो र तेस्रो पटक सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *