भारतसँग रेल खरिद सम्झौता हुँदै
बैशाख २५, २०७६ । सरकारले भारतको कोकन रेल्वे कर्पोरेसनसँग रेल खरिद प्रक्रिया अघि बढाएको छ। जनकपुर–जयनगर रेल सञ्चालन गर्न नयाँ रेल खरिद प्रक्रियाको स्वीकृति प्राप्त भएको करिब दुई महिनापछि रेल विभागले सम्झौता गर्न लागेको हो।
मन्त्रिपरिषद्ले चैतमा कोकन रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाख रुपैयाँमा दुईवटा रेल खरिद गर्न विभागलाई सैद्धान्तिक सहमति प्रदान गरेको थियो। विभागका महानिर्देशक बलराम मि श्राले एक साताभित्र रेल खरिद सम्झौता हुने जानकारी दिए।
मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेसँगै विभागले खरिद सम्झौता प्रक्रिया अघि बढाएको थियो। गत साता कोकन रेल्वे कम्पनीका प्रतिनिधि खरिद प्रक्रियासम्बन्धी छलफल गर्न काठमाडौं आएका थिए। विभाग र कम्पनीबीच वैशाखको अन्तिम साता खरिद सम्झौता गर्ने विषयमा सहमति जुटेको महानिर्देशक मि श्रा बताउँछन्।
‘मन्त्रिपरिषद्को निर्णयसँगै रेल खरिद प्रक्रिया अघि बढेको थियो। बजेटसहित दुवै रेल एउटै कम्पनीबाट खरिद स्वीकृति प्राप्त भएको थियो’, मि श्राले भने, ‘बिक्रेता र खरिदकर्ताबीच सम्झौता हुन गर्न मात्र बाँकी थियो। यो पनि अब टुंगोमा पुग्छ।’ बिक्रेता कम्पनीसँग गरिने सम्झौतासँगै नेपालमा रेल भित्रिने मिति तय हुने उनी बताउँछन्। उनका अनुसार सम्झौता भएको एक महिनाभित्र नेपाली भूमिमा रेल भित्रिनेछ। कोकन रेल्वे कर्पोरेसनले निर्माण गरेको नेपालले खरिद गर्नेछ।
दुईवटै रेल भारतीय कम्पनीले उपलब्ध गराउनेछ। पहिलो रेल भित्रिएको एक महिनाको अन्तरालमा दोस्रो रेल भिœयाउने गरी सम्झौता हुने उनले जानकारी दिए।
नयाँ रेल बर्दिबास–जनकपुर–जयनगर–कुर्था–विजयपुरसम्म सञ्चालन गर्ने लक्ष्य छ। यो खण्डको लम्बाई ६९ किलोमिटर छ। यसमध्ये जनकपुर–जयनजगर ३५ किलोमिटर रेलमार्ग निर्माण भइसकेको छ। बाँकी खण्ड निर्माणाधीन छ। यो रेलमार्ग भारत सरकारको सहयोगमा निर्माण गरिएको हो।
नयाँ रेलमा पाँचवटा डिब्बा हुनेछन्। अगाडि र पछाडि दुवैतर्फ इन्जिन जोडिएको हुनेछ। यसलाई दुवैतर्फ चलाउन मिल्नेछ। यो रेल डिजेल इलेक्टिफाइड मल्टिपल युनिट (डेमु) विद्युत् तथा डिजेल दुवैबाट सञ्चालन गर्न सकिन्छ। रेलको दुवैतर्फ इन्जिन भएकाले फर्काउनुपर्ने समस्या नहुने र छोटो दूरीका निम्ति उपयुक्त हुने विभागको दाबी छ।यो खबर अन्नपूर्ण पोस्टबाट लिएका हौ।