उपत्यकामा अब स्मार्ट यात्रु प्रतीक्षालय

Sharing is caring!

फागुन १२, २०७५ । शान्तिवाटिका अगाडि सडक बीचमा सधैं जसो एउटा लाइन लागेको देखिन्छ । त्यो लाइन न त कुनै जागिरका लागि आवेदन दिन हो न त कुनै सेवाको महसुल बुझाउन फारम भर्न नै । लाइनको कौतुहलता त्यतिबेला सकिन्छ जतिबेला सार्र्वजनिक यातायात त्यहाँ आईपुग्छ र ती यात्रु लामबद्ध भएर सवारीमा प्रवेश गर्छन् । पहिलोपटक देख्ने जो कोहीलाई पनि अनौठो लाग्ने यो लाइन हो उपत्यकाका विभिन्न स्थानमा पुग्ने यात्रुहरूले सवारीसाधन चढ्न प्रयोग गनुपर्ने नियम । यात्रु प्रतीक्षालय अभावमा सर्वसाधारणले यसरी नै लामो समयसम्म सडक बीचमा उभिएर सार्वजनिक यातायात कुनुपर्ने बाध्यता छ ।

यस्तो समस्या काठमाडौंका अधिकांश स्थानमा छ । राजधानीमा रहेका अधिकांश स्थानमा यात्रु प्रतीक्षालय नहुँदा तथा पर्याप्त मात्रामा नहुँदा सडकछेउ र फुटपाथमा बसेर सवारी प्रतीक्षा गर्नुपर्ने सर्वसाधारणको बाध्यता छ ।
अब यो बाध्यता छिट्टै हट्ने भएको छ । यसै समस्यालाई मध्यनजर गर्दै काठमाडौं महानगरपालिकाले उपत्यकाका विभिन्न स्थानमा प्रतीक्षालय बनाउने भएको छ । त्यो पनि स्मार्ट यात्रु प्रतीक्षालय महानगरले सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुलाई लक्षित गरी यस्ता प्रतीक्षालय स्थापना गर्न लागेको हो । विभिन्न रुट हुँदै महानगरभर पुग्ने सवारीसाधन कुर्न र सवारीबारे जानकारी लिन अब यस्तो समस्या रहनेछैन ।

महानगरका अनुसार सार्वजनिक यातायात कुर्नका लागि यात्रुले बीच सडकमा सास्ती भोग्नुपर्दैन । स्मार्ट प्रतीक्षालयमा बसेर महानगरले उपलब्ध गराउने फ्री बाइफाइकोे उपयोग गर्दै, मोबाइल चार्ज गर्दै, आफू जाने रुटको सवारी कहाँ आइपुग्यो, कति समय लाग्छ र कहाँबाट बस लाग्छ सम्पूर्ण जानकारी लिँदै स्मार्ट प्रतीक्षालयमा कुर्न सकिन्छ ।
आकर्षकका साथै अत्याधुनिक प्रकृतिका यस्ता प्रतीक्षालय स्थापना गर्न भन्दै महानगरले २८औं बोर्ड बैठकको निर्णयअनुसार उपप्रमुख हरिप्रभा खड्गीको नेतृत्वमा सम्भाव्यता अध्ययनदेखि स्थापनासम्मको अधिकार रहनेगरी वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोल र वडा नम्बर १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जन सदस्य रहेको अधिकार सम्पन्न कमिटी गठन गरेको छ । त्यस्ता स्थलगत अध्ययनका लागि कमिटी सदस्य न्हुच्छेकाजी महर्जनको संयोजकत्कमा कर्मचारी सम्मिलित अर्को उपसमितिसमेत गठन भएको छ । महानगर क्षेत्रमा विभिन्न स्थानमा सम्भाव्यता अध्ययन गरी यी समितिले सिफारिस गरेका स्थानमा यस्ता प्रतीक्षालय बन्ने महानगरका प्रवक्ता एवं समिति सदस्य ईश्वरमान डंगोलले जनाएका छन् । उनका अनुसार प्रतीक्षालयमा यात्रुको सहजताका लागि विभिन्न सुविधाको व्यवस्था हुनेछ ।

यस्ता प्रतीक्षालयमा स्मार्ट डस्टबिन, मोबाइलको चार्जिङ स्टेसन, घडी, सूचनामूलक जानकारीसहितका डिस्प्ले बोर्ड राखिनेछन् । जसले विभिन्न जनचेतनामूलक सामग्रीका साथै केही विज्ञापनजन्य सामग्रीसमेतलाई समावेश गरिनेछ । यस्ता प्रतीक्षालयमा जीपीएस ट्र्याकिङमार्फत विभिन्न सवारीका रुट र सवारीसाधन कहाँ आइपुगे, कति समय लाग्नेलगायतका जानकारी उपलब्ध गराउनेछ । यसबाट विभिन्न प्रतिकूल मौसमका समयमा समेत यात्रुले राहत पाउने भएका छन् । सार्वजनिक निजी साझेदारीको अवधारणाअन्तर्गत बन्ने यस्ता स्मार्ट प्रतीक्षालय सञ्चालनको जिम्मा एक निश्चित कम्पनीलाई दिइनेछ ।

हाललाई ट्राफिक व्यवस्थापनका लागि प्रहरीले यात्रुलाई लाइन बसेर सवारी कुनुपर्ने बाध्यात्मक नियम बनाएको छ । भिड र अस्तव्यस्ततालाई नियन्त्रण गर्न प्रहरीले यस्तो उपाय अपनाएको हो । तर, लामो समयसम्म लाइन बस्नुपर्ने तथा सडकछेउ फुटपाथमै सवारी कुनुपर्ने अवस्थाले यात्रु मारमा परेको देखिन्छ । स्मार्ट प्रतीक्षालयको अवधारणा सफल भएको खण्डमा यसले सर्वसाधारणलाई धेरै मात्रामा राहत पुग्ने देखिन्छ ।यो खबर राजधानीबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *