चार महिनामा व्यापार घाटा ४ खर्ब ६१ अर्ब

Sharing is caring!

मंसिर ८, २०८० । चालू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म चार महिनाको अवधिमा मुलुकको आयात–निर्यात घटेर व्यापार घाटा पनि घटेको छ । यसैबीच विद्युतीय गाडीको आयात बढेको छ भने पेट्रोलको आयात घटेको छ । यही अवधिमा भारततर्फ बिजुलीको निर्यात बढ्दा व्यापार घाटा पनि घटेको छ ।

भन्सार विभागका अनुसार पहिलो चौमासिक अवधिमा ५ खर्ब १२ अर्ब ५० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यस अवधिमा ५० अर्ब ५६ करोड ५३ लाख ८१ हजार रुपैयाँको निर्यात भएको छ । भन्सार विभागका अनुसार साउनदेखि कात्तिकसम्ममा देशको व्यपार घाटा ४ खर्ब ६१ अर्ब ९३ करोड ८० लाख ९३ हजार रहेको छ ।
सो अवधिमा पेट्रोलियम पदार्थको आयात मात्र १० अर्ब रुपैयाँ कम आयात भएको छ । नेपालले पछिल्लो चार महिनामा सवा १ अर्ब रुपैयाँ बराबरको सिमेन्ट क्लिंकर र लाइमस्टोन निर्यात गरेको छ ।

यसैगरी, पहिलो चार महिनामा ६ अर्ब ७३ करोड २७ लाख ५० हजार बराबरको विद्युतीय कार, जिप र भ्यान आयात भएको छ । यही अवधिमा १२ अर्ब रुपैयाँको बिजुली भारत निर्यात भएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार गतवर्षको चार महिनाका तुलनामा यस वर्ष ३ दशमलव ७९ प्रतिशतले आयातमा कमी आएको छ ।

जहाँ कात्तिक महिनासम्म ५ खर्ब १२ अर्ब ५० करोड ३४ लाख ७४ हजार रुपैयाँको आयात भएको थियो । गतवर्षको सोही अवधिमा भने ५ खर्ब ३२ अर्ब बढीको आयात भएको थियो । चार महिनामा देशको निर्यात ७ दशमलव ६८ प्रतिशतले घटेको छ । सो अवधिमा ५० अर्ब ५६ करोड ५३ लाख ८१ हजार रुपैयाँको निर्यात भएको छ ।

गतआर्थिक वर्षको यही अवधिमा नेपालबाट ५४ अर्ब रुपैयाँको निर्यात भएको थियो ।

भन्सार विभागको तथ्यांकले चालू आर्थिक वर्ष २०८०-८१ पहिलो ४ महिनामा आयात र निर्यात दुवैमा कमी देखिएको हो ।

यस अवधिमा सरकारले आयातीत वस्तुबाट १ खर्ब ३७ अर्ब ८ करोड ५१ लाख रुपैयाँको राजस्व संकलन गरेको छ ।

अहिले वैदेशिक व्यापारमा आयातको हिस्सा ९१ दशमलव २ र निर्यातको हिस्सा ८ दशमलव ९८ प्रतिशत रहेको छ ।

भन्सार विभागका अनुसार पेट्रोलियम पदार्थ आयातमा ९८ अर्ब ८ करोड रुपैयाँ बिदेसिएको छ । गतवर्ष सोही अवधिमा १ खर्ब ८ अर्ब ५९ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थको आयात भएको थियो । आइरन तथा स्टिलको आयातमा ४३ अर्ब रुपैयाँ बिदेसिएको छ । चार महिनामा २३ अर्ब ८१ करोड मूल्यका सवारी साधन आयात भएका छन् । तरकारीजन्य वस्तुको आयातमा ११ अर्ब ८७ करोड रुपैयाँ बिदेसिएको भन्सार विभागले जनाएको छ ।

भन्सार विभागका अनुसार भारतसँग नेपालको सबैभन्दा ठुलो व्यापार छ । भारतसँग ३ खर्ब १४ अर्बको आयात हुँदा ३३ अर्ब रुपैयाँ बराबरको निर्यात भएको छ । भारतसँग मात्र व्यापार घाटा २ खर्ब ८१ अर्ब रुपैयाँ रहेको छ । यसैगरी, चीनबाट १ खर्ब रुपैयाँको आयात हुँदा निर्यात भने मात्र ८३ करोड रुपैयाँको भएको छ ।

नेपालको वैदेशिक व्यापार भएका कुल एक सय ४४ देशमध्ये १ सय १७ देशसँग व्यापार घाटा रहेको छ ।

भन्सार विभागको तथ्यांकले २७ मुलुकसँग व्यापार नाफा रहेको देखिएको छ । नेपालको सबैभन्दा धेरै व्यापार नाफा हुने देशमा अमेरिका रहेको छ । अमेरिकासँग १ अर्ब ९७ करोड ८६ लाख ६२ हजार रुपैयाँ नाफा रहेको छ । यसैगरी, डेनमार्क ३० करोड ५० लाख ३२ हजार रुपैयाँसहित व्यापार नाफा रहेको छ । नेदरल्यान्डसँग भने ९ करोड ३३ लाख २९ हजार रुपैयाँ व्यापार नाफा रहेको छ । नर्वे, आइसल्यान्ड, जर्जिया, फिनल्यान्ड पनि नेपालसँग व्यापार नाफा भएका मुलुकमा पर्दछन् ।

भन्सार विभागका अनुसार ४ महिनामा अमेरिकातर्फ ६ अर्ब १० करोड ८० लाख रुपैयाँ बराबरको निर्यात भएको छ । यसैगरी, जर्मनीतर्फ १ अर्ब ५८ करोड १९ लाख ७२ हजार रुपैयाँ र बेलायततर्फ १ अर्ब ३३ करोड ६९ लाख ८४ हजार रुपैयाँ बराबरको निर्यात भएको छ ।

मुलुकको सकारात्मक पक्षका रूपमा नेपालबाट भारततर्फ सिमेन्ट क्लिंकर निर्यात हुनु पनि रहेको छ । नेपालले पछिल्लो चार महिनामा सवा १ अर्ब रुपैयाँ बराबरको सिमेन्ट क्लिंकर र लाइमस्टोन निर्यात गरेको छ । नेपालबाट १ अर्ब १५ करोड ९५ लाख रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर र यसको कच्चा पदार्थका रूपमा लाइमस्टोनको निर्यात भएको छ ।

यस अवधिमा १ अर्ब १३ करोड रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर निर्यात भएको छ भने २ करोड ८७ लाख रुपैयाँ बराबरको लाइमस्टोनको भारत निर्यात भएको हो ।

भारतमा ८ लाख ६ हजार टन सिमेन्ट र क्लिंकर निर्यात भएको छ भने १ करोड ३ लाख किलो लाइमस्टोन भारत निर्यात भएको छ ।

नेपालको व्यापार घाटा कम हुन नसक्नुको प्रमुख तŒवका रूपमा स्मार्टफोन पनि रहेको छ । चार महिनामा पौने आठ लाख सेट स्मार्टफोन नेपाल भित्रिँदा ५३ करोड ९ लाख ५ हजार रुपैयाँ मुलुक बाहिर गएको छ ।

भन्सार विभागले चालू आर्थिक वर्षको चार महिनामा २ हजार ७ सय ८७ वटा विद्युतीय कार, जिप र भ्यान आयात भएको तथ्यांक उपलव्ध गराएको छ ।

गतवर्षभन्दा यसपटक विद्युतीय गाडीको आयात १७३ प्रतिशतले बढेको छ । यस अवधिमा ५० किलोवाटसम्म मोटर क्षमता भएको १२ सय ७९ वटा विद्युतीय कार, जिप र भ्यान आयात भएको छ । ५१ देखि १ सय किलोवाटसम्म मोटर क्षमता भएको १४ सय ८१ वटा, १०१ किलोवाटदेखि २ सय किलोवाटसम्म मोटर क्षमता भएको १७ वटा र २०१ किलोवाटदेखि ३०० किलोवाट मोटर क्षमता भएका १० वटा विद्युतीय कार आयात भएका छन् ।

यस अवधिमा १३ अर्ब १६ करोड ४१ लाख ७० लाख रुपैयाँको खाद्यान्न आयात भएको छ । नेपालमा नै उत्पादन हुन सक्ने अवस्थाबीच पनि चीनबाट ७९ हजार ७ सय टन धान आयात भएको छ ।

यस्तै, ब्राउन राइस, बास्मतीलगायत तयारी चामल चीन, भारत, थाइल्यान्डलगायत राष्ट्रबाट ३३ हजार टन भित्रिएको छ । खाद्यान्न मात्र नभइ चार महिनामा ५६ अर्ब रुपैयाँ बराबरका विभिन्न तरकारी भारत र चीनबाट आयात भएको छ । यो खबर राजधानीबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *