सरकार नै भ्रष्टाचारमा संलग्न रहेको अध्यक्ष थापाको आरोप

Sharing is caring!

भदौ २९, २०८० । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने अनि शान्ति सुरक्षा दिनुपर्ने राज्य र सरकार स्वयम् भ्रष्टाचारमा संलग्न भएको आरोप लगाएका छन् ।

शुक्रबार काठमाडौंमा राप्रपा नेपालले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

करिब आधा दर्जन नेताले अरबौ रुपैयाँ बिदेशी बैंकमा लुकाएर राखेको भन्दै उनले सरकार स्वयम् भ्रष्टाचारमा संलग्न भएको बताए ।

उनले भने,‘केही सीमित दलका सीमित नेताहरु रातारात करोडपति, अरबपति भएका छन् । म दाबीका साथ भन्न सक्छु । प्रमाणका साथ भन्न सक्छु ,। करिब आधा दर्जन नेताले अरबौ रुपैयाँ स्विजरल्यान्ड दुबई र सिङगापुरका बैकमा लगेर राखेका छन् । यो भ्रष्टाचार स्वयम सरकारले गरिरहेको छ । सरकार स्वयम् भ्रष्टाचार गर्छ ।’

उनले सबै नेपाली जनतालाई पार्टीभन्दा माथि उठेर देशका लागि तेस्रो जनआन्दोलनमा सहभागी हुन आग्रह समेत गरेका छन् ।

कुनै पार्टीको भन्दा पनि देशको स्वाभिमानी नेपाली भएर सुशासनको जगमा समृद्ध नेपाल बनाउँन चाहने सबै नेपालीलाई तेस्रो जनआन्दोलनमा आन्दोलनमा सहभागी हुन आग्रह गरेका हुन् ।

उनले भने, ‘स्वाभिमानी नेपाली दिदी बहिनीलाई आग्रह गर्न चाहन्छु । कांग्रेस भएर होइन, एमाले भएर होइन, माओवादी भएर होइन राप्रपा नेपाल भएर पनि होइन । देशको स्वाभिमानी नेपाली भएर छातीमा हात राखेर देशको अवस्थालाई विश्लेषण गर्नुहोस् र यदि अहिले भ्रष्ट व्यवस्था अन्त्य गर्न र राजसंस्था चाहनुहुन्छ भने र संघीयता खारेज होस् भन्ने छ भने, सुशासनको जगमा समृद्ध नेपाल बनाउन चाहनुहुन्छ भने यो आन्दोलनमा सहभागी हुन आग्रह गर्न चान्छु । केवल पार्टीको व्यानर र झण्डामा होइन राष्ट्रिय झण्डाको व्यानरमा सहभागी हुन आग्रह गर्छु ।’

राप्रपा नेपालको भद्रकालीबाट प्रदर्शन सुरु भइ भृकुटीमण्डप पुगेर विरोधसभामा परिणत भएको थियो ।

संवैधानिक राजतन्त्रको पुनस्र्थापना, हिन्दु राष्ट्रको माग र संघीयताको खारेजी तथा भ्रष्टाचारको विरोधमा राप्रपा नेपालले काठमाडौंमा प्रदर्शन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *