राष्ट्र संघका हरेक कदममा नेपाल साथमा छ : प्रधानमन्त्री

Sharing is caring!

माघ १२, २०८० । प्रधानमन्त्री पुष्पकमल दाहालले रुस–युक्रेन युद्ध, इजरायल–हमास द्वन्द्ध, लगायतका घटनाले विश्व शान्तिमा चुनौती थपेको भन्दै विश्व शान्तिका लागि संयुक्त राष्ट्र संघले उठाउने कदममा साथ दिने बताएका छन् ।
संयुक्त राष्ट्र संघको निशस्त्रीकरण मामिलासम्बन्धी उच्चस्तरीय प्रतिनिधिमण्डलसँग शुक्रबार भएको भेटका क्रममा प्रधानमन्त्री दाहालले नेपाल सदैव विश्व शान्तिको पक्षमा रहेको बताएका हुन् ।

निशस्त्रीककरण मामिलासम्बन्धी संयुक्त राष्ट्र संघको निकाय युएनओडिएका तर्फबाट उच्चस्तरीय प्रतिनिधिको नेतृत्व गरेकी मिस इजुमी नाकामित्सु सहितको टोलीसँग भेटवार्ताका क्रममा प्रधानमन्त्री दाहालले नेपालको शान्ति प्रक्रिया विश्वका लागि उदाहरणीय रहेको जिकिर गरे । विश्व शान्तिका लागि संवाद मात्रै एकमात्र विकल्प भएकोमा जोड दिदै दाहालले रुस–युक्रेन युद्ध, इजरायल–हमास द्वन्द्धलाई वार्तामार्फत टुंग्याउनुपर्ने बताए ।

दाहालले अगाडि बुद्ध जन्मेको भूमि नेपालले विश्वमा शान्ति स्थापनाका लागि विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरुमा उल्लेख्य भूमिका खेल्दै आएको समेत स्मरण गराए । उनले शान्ति स्थापनाका लागि संयुक्त राष्ट्र संघका प्रयासहरुमा सदैव साथ दिने र नेपालले विश्व शान्तिका लागि नेतृत्वदायी भूमिका खेल्ने बताएका छन् ।

संयुक्त राष्ट्र संघको प्रतिनिधि मण्डलका तर्फबाट बोल्दै इजुमी नाकामित्सुले निशस्त्रीकरण मामिलामा नेपाल दक्षिण एशियाली क्षेत्रमा शान्ति केन्द्र बन्ने अपेक्षा व्यक्त गरिन ।

‘परमाणु हतियारले सुसज्जित छिमेकीहरुको बीचमा नेपाल शान्ति केन्द्र बन्ने अपेक्षा राखेर केन्द्रको स्थापना गरिएको हो,’ उनले थपिन,‘नेपालले विगतमा झैं क्षेत्रीय र वैश्विक शान्तिका पक्षमा आफ्नो भूमिका प्रभावकारी खेल्ने अपेक्षा रहेको छ ।’

भेटका क्रममा इजुमीले शान्ति मिसनमा दोश्रो योगदानकर्ता राष्ट्रका रुपमा नेपालले खेलेको भूमिकाको प्रशंसा गरिन ।
भेटमा संयुक्त राष्ट्र संघको नेपालस्थित आवासीय प्रतिनिधि हाना सिंगर, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रुपक सापकोटा, परराष्ट्र मन्त्रालयका अन्य अधिकारी लगायतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *