आजबाट सोह्र श्राद्ध सुरु

Sharing is caring!

असोज १३, २०८० । आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो ।
चाडपर्व, यज्ञ तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । सोह्रश्राद्धमा पितृले आफ्ना सन्तानबाट तर्पण, पिण्डको आश गरिरहेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको दायित्व पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ ।

वैदिक सनातन संस्कारमा सामान्यतया श्राद्ध दुई पटक गरिन्छ, वर्षमा नियमित श्राद्ध पितृहरूको देहावसान भएको तिथिमा र अर्को श्राद्ध सोह्र श्राद्धको अवधिमा गरिन्छ ।

कारणवश सोह्रश्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्रश्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिक कृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने धर्मसिन्धु नामक शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।

त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत् दैनिक १०८ मन्त्र जप गर्न सकिने शास्त्रीय विकल्प रहेको छ । विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ । यो विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ ।

पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् दसैँ सुरु हुन्छ । बडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्नुपर्ने धर्मशास्त्रीय मान्यता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *