विश्वविद्यालयमा उपकुलपति नियुक्ति अब खुला प्रतिस्पर्धाबाट
hitkhabar.com
08 May 2026
काठमाडौं । विश्वविद्यालयहरूको नेतृत्व चयन प्रक्रियालाई थप पारदर्शी, योग्यतामा आधारित र निष्पक्ष बनाउन सरकारले नयाँ कार्यविधि लागू गरेको छ ।
नयाँ व्यवस्था अनुसार आठ विश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि विज्ञ समिति गठन गरिनेछ । उक्त समितिले आवेदकहरूको मूल्याङ्कन गरी खुला प्रतिस्पर्धामार्फत छनोट प्रक्रिया अगाडि बढाउने जनाइएको छ ।
यसैगरी, सर्टलिस्टमा परेका आवेदकहरूको नाम सार्वजनिक गरिने र उनीहरूमाथि विद्वत् समुदायबाट सुझावसमेत संकलन गरिने व्यवस्था गरिएको छ ।
सरकारले देश तथा विदेशमा रहेका योग्यता पुगेका प्राज्ञिक व्यक्तित्वहरूलाई यस प्रक्रियामा सहभागी भई राष्ट्रसेवाको अवसरका रूपमा लिन आग्रह गरेको छ ।
उपकुलपति पदका लागि आवेदन अनलाइनमार्फत दिन सकिनेछ । आवेदन सूचना, आवेदन लिंक तथा कार्यविधिसम्बन्धी विवरण सम्बन्धित निकायले सार्वजनिक गर्ने जनाएको छ ।
बाँकी विश्वविद्यालय तथा अन्य निकायहरूमा पनि यथाशीघ्र नियुक्ति प्रक्रिया अगाडि बढाइने सरकारको तयारी रहेको बताइएको छ ।