काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नं. १७ ले संवादात्मक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) आधारित कल सेन्टर सेवा सञ्चालनमा ल्याएको छ । स्मार्ट वडा निर्माण अभियानअन्तर्गत प्रविधिमैत्री सेवा विस्तार गर्ने उद्देश्यसहित उक्त सेवा सुरु गरिएको वडाले जनाएको छ ।
वडाले सार्वजनिक गरेको ०१–५९७१९८९ नम्बरमा फोन गरेपछि एआई प्रणालीले सेवाग्राहीलाई स्वागत गर्दै आवश्यक सूचना तथा जानकारी प्रदान गर्नेछ । सेवाग्राहीले वडासम्बन्धी विभिन्न विषयमा प्रश्न सोध्न सक्नेछन् भने एआईले त्यसको तत्काल जवाफ दिने व्यवस्था गरिएको छ ।
यदि एआईसँग सम्बन्धित प्रश्नको उत्तर उपलब्ध नभएमा सेवाग्राहीलाई वडाका कर्मचारी वा सम्बन्धित एजेन्टसँग प्रत्यक्ष रूपमा जोड्ने सुविधा पनि रहेको छ । यसले नागरिकलाई सहज, छिटो र प्रविधिमैत्री सेवा प्रदान गर्ने विश्वास वडाले लिएको छ ।
वडा प्रवक्ता मानन्धरका अनुसार एआईको सहयोगमा नागरिकलाई प्रत्यक्ष रूपमा वडासँग जोड्ने यो सेवा नेपालमै पहिलो प्रयास हो । उनका अनुसार आगामी दिनमा सेवालाई अझ प्रभावकारी र उपयोगी बनाइनेछ ।