नेकपा माओवादी सधैँ सत्तामा !

Sharing is caring!

जेठ १०, २०८१ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार चौथोपटक विश्वासको मत लिनुभयो । उहाँले चौथोपटक सहजै विश्वासको मत प्राप्त गर्दा साँख भने घट्दै गएको छ । विपक्षी दलका सांसदहरूलाई वेलमा घेरेर उहाँले संसद्बाट विश्वासको मत लिनुपरेको थियो । कुनै प्रधानमन्त्रीले विश्वासको मत लिँदा देखिएको यो दृश्य नेपालको इतिहासमै पहिलो हो ।

कुनैबेला मुलुकको आमूल परिवर्तन गर्न भन्दै सशस्त्र विद्रोहसम्म गरेको नेकपा माओवादी समय क्रममा आफैँ परिवर्तन भएको छ । २०५२ सालमा ४० बुँदे माग सरकारलाई बुझाएर सशस्त्र आन्दोलनको उद्घोष गरेयता माओवादीले विद्रोही शक्तिको पहिचान बनाएको थियो । शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको १८ वर्षमा माओवादीको पहिचान बदलिएको छ । राजनीतिक तथ्यांकहरूले माओवादी ‘सरकारी पार्टी’मा परिणत भइसकेको पुष्टि गर्छ ।

२०६३ सालयता नेकपा माओवादीले चारपटक सरकारको नेतृत्व गरिसकेको छ भने दुईवटा बाहेक सबै सरकारमा सहभागी बनेको छ । २०६३ साल माघ १ गते अन्तरिम संविधान जारी भएपश्चात् माओवादी अन्तरिम व्यवस्थापिकामा प्रवेश गर्‍यो । सोही वर्ष चैतमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा माओवादी सहभागी बन्यो । त्यसयता अधिकांश समय माओवादी ‘सत्तारूढ दल’को रूपमा रहेको छ ।

२०६५ सालमा माधवकुमार नेपाल नेतृत्वको सरकार र २०७० मा दोस्रो संविधानसभा निर्वाचनपछि बनेको सुशील कोइराला नेतृत्वको सरकारमा मात्रै माओवादी सहभागी भएन । यी दुईबाहेक सबै सरकारमा सहभागी भएको माओवादीबाट हालसम्म मन्त्री र राज्यमन्त्री गरी ७० जनाभन्दा बढी नेताले सत्तारोहण गरेका छन् ।

संविधान निर्माण यताका सबै सरकारमा माओवादी सहभागी छ । संविधान बनेलगत्तै २०७२ असोज २४ मा केपी शर्मा ओली नेतृत्वमा बनेको सरकारमा माओवादी सहभागी बन्यो । आफैँ सहभागी सरकार छाडेर अविश्वासको प्रस्ताव ल्याई २०७३ साउनमा प्रचण्ड दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्नुभयो । २०७४ जेठमा गठबन्धनको सहमतिअनुसार प्रधानमन्त्रीबाट प्रचण्डले राजीनामा दिए पनि लगत्तै बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादी सहभागी बन्यो । त्यही वर्ष असोज १७ मा फेरि एमालेसँग वाम एकताको घोषणा गर्दै माओवादीले कांग्रेससँगको गठबन्धन तोड्यो । २०७४ मंसिरमा सम्पन्न संसदीय निर्वाचनलगत्तै माओवादी केपी ओली नेतृत्वको सरकारमा सहभागी भयो । एमालेसँग पार्टी एकता गरी नेकपाको अध्यक्षका रूपमा समेत प्रचण्ड सक्रिय रहनुभयो ।

यद्यपि, २०७७ पुसमा नेकपाको आन्तरिक विवादका कारण संसद् विघटन भयो । सर्वोच्चको आदेशपछि नेकपा एकता खारेज भयो र माओवादी पुनः ब्युँतियो । लगत्तै कांग्रेस नेतृत्वको सरकारमा सहभागी भयो । २०७९ मंसिरमा सम्पन्न चुनावलगत्तै एमाले समर्थनमा प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री बन्नुभयो । दुई महिनामै सत्ता घटक एमाले बाहिरिएपछि कांग्रेसको समर्थनमा एक वर्ष माओवादीले सत्ताको नेतृत्व गर्‍यो । दुई महिनाअघि मात्रै कांग्रेससँग गठबन्धन तोड्दै प्रधानमन्त्री प्रचण्डले एमाले र रास्वपाको समर्थन हासिल गर्नुभयो । सो क्रममा उहाँले आफू नमरुन्जेल राजनीतिमा उथलपुथल भइरहने घोषणा गर्नुभयो । सोमबार मात्रै उहाँले जरुरी प¥यो भने १०-१२ पटक विश्वासको मत लिने दाबी गर्नुभएको थियो ।

‘सत्तामा नभए माओवादी सिद्धिन्छ’
निरन्तर सरकारी घटकका रूपमा रहेको नेकपा माओवादी केन्द्रलाई ‘सरकारी पार्टी’ भन्दा पनि फरक नपर्ने विश्लेषकहरू बताउँछन् । वाम विश्लेषक मुमाराम खनाल माओवादी पार्टी सत्ताकै कारण जीवित रहेको बताउनुहुन्छ । ‘सत्तामा नरहने हो भने माओवादी पार्टी नै रहँदैन भन्ने तथ्य माओवादी नेताहरूले राम्ररी बुझेका छन् । त्यसैले राज्यको अतिरिक्त दोहन गरेर आफ्नो अस्तित्व जोगाउन माओवादी उद्यत छ’, खनालको भनाइ छ । उहाँको बुझाइमा सत्तामा रहेर स्वार्थ जोगाउने माओवादीका लागि अहिले अन्तिम अवसर छ । प्रचण्डका पछिल्ला अभिव्यक्तिहरूले पनि यसलाई प्रमाणित गर्छन् । ‘यो माओवादीले आफ्नो पहिचानसहित सत्तामा बस्ने अन्तिम किस्ता हो । २०८४ पछि माओवादी भन्ने पार्टी सत्तामा होइन कतै पनि भेटिँदैन । माओवादीका केही नेताले अरू पार्टीमा गएर राजनीति जोगाउलान् तर, प्रचण्डको नेतृत्वमा रहेको माओवादी सत्ता छुटेको दिन सिद्धिन्छ’, खनालको दाबी छ ।

माओवादी नेता को कता ?
२०५२ साल फागुन १ गते ‘जनयुद्ध’ सुरु गर्दाको क्षण नेकपा माओवादीको राजनीतिक जीवनका लागि सबैभन्दा अर्थपूर्ण क्षण थियो । त्यतिबेला माओवादीको केन्द्रीय कमिटीमा जम्मा १९ जना थिए । २०६३ मंसिर ५ गते बृहत् शान्ति सम्झौता भएपछि माओवादी औपचारिक रूपमा शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको थियो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालसम्म मूल माओवादी पार्टीको नेतृत्व गरिरहे पनि अन्य प्रभावशाली नेताहरू माओवादीमै छैनन् । तत्कालीन केन्द्रीय कमिटीका १९ मध्ये दुई जनाको निधन भइसकेको छ । एकजना अझै बेपत्ता छन् भने बाँकी १६ मध्ये प्रचण्डसहित आठजना मात्रै नेकपा माओवादीमा छन् ।

माओवादीमै सक्रिय रहनेमा अध्यक्ष प्रचण्ड, पूर्वसभामुख अग्नि सापकोटा, उपाध्यक्ष पम्फा भुसाल, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव हरिबोल गजुरेल, उपमहासचिव मातृका यादव तथा नेताहरू फणिन्द्र आचार्य र नारायण शर्मा हुनुहुन्छ । सशस्त्र आन्दोलन घोषणा गर्दा माओवादीको दोस्रो वरियतामा रहनुभएका मोहन वैद्य हाल नेकपा (क्रान्तिकारी माओवादी)को महासचिव हुनुहुन्छ । डा. बाबुराम भट्टराई नेपाल समाजवादी पार्टीमा क्रियाशील रहँदा रामबहादुर थापा एमालेको उपाध्यक्ष रहनुभएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिनुभएका नेता टोपबहादुर रायामाझी एमालेको निलम्बित सचिव हुनुहुन्छ । सिपी गजुरेल देशभक्त गणतान्त्रिक मोर्चाको अध्यक्ष हुनुहुन्छ भने हरिभक्त कँडेल र दिनेश शर्मा क्रान्तिकारी माओवादीमा सक्रिय हुनुहुन्छ । तत्कालीन माओवादी नेताहरू यानप्रसाद गौतम र पोष्टबहादुर बोगटीको निधन भइसकेको छ भने दण्डपाणी न्यौपाने बेपत्ता सूचीमा हुनुहुन्छ । पूर्वमन्त्री लोकेन्द्र विष्ट भने राजनीति नै छाडेर कृषि पेशामा सक्रिय हुनुहुन्छ । यो खबर हिमालय टाईम्सबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *