दुग्ध किसानको भुक्तानी एक साताभित्रै : कृषिमन्त्री साह

Sharing is caring!

चैत ३, २०८० । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वाला कुमारी साहले एक हप्ताभित्र सबै दुग्ध किसानको हातहातमा बक्यौता भुक्तानी पुग्ने बताएकी छन् । उनले त्यसका लागि आफूले आर्थिक प्रबन्ध मिलाउन जोड दिएर अन्तर मन्त्रालयहरुसँग समन्वय गरिरहेको जानकारी गराइन् । मन्त्री साहले दुग्ध किसानको बक्यौता भुक्तानीका लागि शुक्रबार नै अर्थ मन्त्रालबाट ३० करोड निकासा गरी प्रकृया अघि बढाइसकेको बताइन् ।

मन्त्री साहले भुक्तानीका लागि कृषि मन्त्रालयबाट सम्पूर्ण प्रक्रिया पुरागरी अर्थमन्त्री वर्षमान पुनलाई आग्रह गरेपछि शुक्रबार तत्काल किसानको बक्यौता भुक्तानी दिने प्रक्रिया अघि बढाउन मन्त्री पुनले आफू मातहतका निकायलाई भनेका थिए ।

पुनले निर्देशन दिनुपूर्व, कृषिमन्त्री ज्वालाकुमारी साह कृषि सचिव डा.गोविन्द प्रसाद शर्मा र पशुपंक्षी विकास सचिव डा. रेवतीरमण पौडेलसँग छलफल गरेरै प्रकृया अघि बढाएको साहले बताइन् ।

अन्तर मन्त्रालयबाट ऋण लिएर ३० करोड हिजो साँझ भुक्तानीको लागि पठाएपनि त्यसले मात्रै सबै किसानको भुक्तानी चुक्ता नहुने भन्दै मन्त्री साहले दुग्ध विकास संस्थान (डिडिसी) मा रहेको सवा अरब मूल्य बराबरको सामग्रीबाट भुक्तानी मिलाएर किसानलाई वितरण गर्न सके ठूलो राहत हुने बताइन् । त्यसका लागि सरोकारवाला निकायसँग आफूले छलफल गरिरहेको भनाई उनको छ । तर, एउटै कामलाई धेरै समय लगाएर आफूहरु अलमल गरेर बस्ने भन्दा तिव्र गतिमा नतिजा दिनेगरी बक्यौता भुक्तानिको समस्यालाई हल गर्न लागेको जानकारी गराइन । उनले अबको एक हप्तामा किसानको हातमा दुधको भुक्तानी पुर्याउने दाबी गरिन् ।

मन्त्री साहले भनिन्, ‘म आफैं सक्रियताका साथ लागेको छु । जवसम्म नेतृत्व तात्दैन काम रफ्तारमा हुँदैन् । जसरी आम किसानले भुक्तानि चाँडै आउला भनेर म माथि आशा गर्नुभएको छ,सोचिराख्नु भएको छ,त्यसरी नै मैले तिव्र रफ्तारमा अर्थको व्यवस्था गर्न लागिराखेको छु । सके एक हप्ताभित्रै किसानका हातहातमा रकम पुग्छ । रिजल्ट देखिने गरी काम अगाडि बढाइराखेको छु ।’

आफूले सरकारको तर्फबाट तुरुन्तै रिजल्ट देखिने गरी समस्या हल गर्न तत्पर रहेको बताएकी उनले प्राइभेट सेक्टरलाई पनि तुरुन्त बाँकी बक्यौता रकम भुक्तानीका लागि पत्राचार गर्ने सुनाइन् । ‘हिजोबाट सरकारले भुक्तानीका लागि सुरुआत गरिसकेको छ । प्राइभेट सेक्टरले दिन बाँकी चार अर्ब रुपैयाँ भुक्तानीका लागि आजभोलिमा पत्राचार गर्छौ’ मन्त्री साहले भनिन् ।

यस्तै, मन्त्री साहले आर्थिक समस्याका कारण बिमा कम्पनीहरु बन्द भइरहेको अवस्थामा आफूले नेतृत्व सम्हालेपछि बिमा क्षेत्रका लागि अनुदान स्वरुप ४८ करोड रुपैयाँ पास गरेको उल्लेख गर्दै छिट्टै थप प्रक्रृया अगाडि बढाउने बताइन् ।

उनले भनिन् ‘बिमा कम्पनी बन्द हुने अवस्थामा पुगेको सम्बन्धमा बिमा कम्पनीहरुलाई सरकारले राहत दिनुपर्छ भनेर लागेकोे छु । प्रधानमन्त्रीसँग छलफलपछि ४८ करोड रुपैयाँ अनुदान पास भएको छ । अब प्रक्रिया अगाडि बढ्छ ।’
साहले आफू आम कृषकको मन्त्री भएको उल्लेख गर्दै कृषि क्षेत्रका समस्या समाधन गर्न नतिजामुखी काम गर्ने बताइन् ।

कृषि क्षेत्रलाई माथि उठ्न नदिन बिचौलियाहरु सक्रिय रहेको सुनाएकी साहले बिचौलियाहरुलाई एक जना मन्त्रीले चाहेर पनि नियन्त्रण गर्न सम्भव नभएको धारणा राखिन । तर,उनले कृषि क्षेत्रका बिचौलियालाई निर्मुल पार्न सबै क्षेत्रको साथ र सहयोगको आवश्यकता औंल्याउँदै साथ सहयोग रहे आफ्नो कार्यकालमा कृषि क्षेत्रलाई बिचौलियाको कब्जाबाट निकालेर देखाउने दाबी गरिन ।

उनले भनिन्, ‘कृषि क्षेत्रलाई माथि उठ्न नदिन बिचौलियाहरु सक्रिय छन् । यो एकजना मन्त्रीले चाहेर नियन्त्रण गर्न असम्भव जस्तै छ । यसका लागि हरेक राजनीतिक दलदेखि मिडियाको सहयोग चाहिन्छ । एक–दुई महिनाभित्रै बिचौलिया अन्त्य गर्नका लागि काम गर्छौ । वास्तविक कृषक र व्यापारिका लागि लाइसेन्सको व्यवस्था गर्नुपर्छ । मेरो कार्यकालमा कृषि क्षेत्र बिचौलियाको कब्जाबाट निकाल्छु ।’

उनले भनिन्, ‘कृषि मन्त्रालय अन्तर्गत रहेका निकायहरुमा कर्मचारी समायोजन सबभन्दा जटिल विषय हो । यसलाई एउटा नीतिमा ढाल्नुपर्छ । स्थानीय, प्रदेश र संघ तीन तहको सरकार भएपछि अर्थात् देश संघीयतामा प्रवेश गरेपछि यस्तो समस्या आएको हो । कुन तहका कर्मचारीले कुन घेराभित्र बसेर काम गर्ने भन्नेबारे स्पष्ट नीति बनाउनु अहिलेको आवश्यकता हो ।’

देशका सबै नागरिक कृषिको बलमा बाँचेको यथार्थलाई नकार्न नमिल्ने बताएकी मन्त्री साहले नागरिक अधिकारको प्रत्याभुत हुनेगरि आफूले नेतृत्व सम्हालेर आम किसानका लागि निर्णय लिने जिकिर गरिन । ‘देशको एक महत्वपूर्ण मन्त्रालयको रुपमा कृषि मन्त्रालय पर्छ । हामीले मन्त्रालयलाई व्यवस्थापन गर्न सकेनौं भने आम कृषक, उद्योग व्यवसायीहरु लगायतको जिविकोपार्जनमा समस्या आउँछ । हामी कृषकको बलमा बाँचेका छौं भन्ने विर्सने कुरै भएन’, साहले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *