भारतमा विपक्षी दलका ६७ जना सांसद निलम्बित

Sharing is caring!

पुस २, २०८० । भारतको राज्य सभा र लोक सभामा गरेर आज ६७ जना विपक्षी सांसदहरु निलम्बित भएका छन् । लोकसभामा विपक्षी सांसदहरुले विरोध जारी राख्दै हंगामा गरेपछि अध्यक्ष ओम विरलाटले ३३ जनालाई सोमबार निलम्बन गरे ।

निलम्बनमा पर्नेमा कांग्रेस नेता अधीर रञ्जन चौधरी पनि रहेका छन् । यसबाहेक कांग्रेसका जयराम रमेश पनि राज्यसभाबाट निलम्बित भएका छन् । अध्यक्षले हिउँदे अधिवेशनको बाँकी कार्यदिवसका लागि सबै सांसदलाई निलम्बन गरेका हुन् ।

सदनमा हंगामा भएपछि सोमबार राज्यसभाका अध्यक्ष जगदीप धनखरले ३४ जना विपक्षी सांसदहरुलाई निलम्बन गरेका छन् । उनीहरुलाई चालू अधिवेशनको बाँकी दिनका लागि निलम्बन गरिएको छ । लोकसभामा केन्द्रीय संसदीय मामिला मन्त्री प्रह्लाद जोशीले विपक्षी सदस्यहरूलाई निलम्बन गर्न माग गरेका थिए । त्यसपछि अध्यक्षले सदस्यहरूलाई निलम्बन गरेका हुन्।

गत शुक्रबार लोकसभामा १४ विपक्षी सांसदलाई निलम्बन गरिएको थियो । योसँगै राज्यसभा र लोकसभा सहित कुल ८१ विपक्षी सांसद निलम्बित भएका छन् । सांसदहरुलाई निलम्बन गरेपछि संसदको बैठक मंगलबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।

सभामुख ओम बिरलाले सबै सदस्यहरूलाई सदनमा प्लेकार्ड नल्याउन आग्रह गरेका थिए । तर, विपक्षी सांसदहरुले संसदको सुरक्षामा लापरवाही गरेको भन्दै सिट अगाडि लगातार प्लेकार्ड देखाउँदै आएका थिए । लोकसभामा विपक्षी सांसद अब्दुल खालिक, विजय वसन्त र के जयकुमारको मुद्दा विशेषाधिकार समितिमा पठाइएको छ ।

कांग्रेस सांसद अधीर रञ्जन चौधरी र कांग्रेस नेता गौरव गोगोईले सरकारले विपक्षी सांसदलाई निलम्बन गरेर आवाज दबाउन खोजेको टिप्पणी गरेका छन् । गोगोइले सरकारले गृहमन्त्री अमित शाहलाई बचाउन चाहेको बताए । चौधरीले भने विगत दुई दिनदेखि निलम्बनमा परेकासांसदको निलम्बन अन्त्य गर्न माग गर्दै आफूहरुले संसदमा सुरक्षा कमजोरीमाथि बहसको माग गरेको प्रतिक्रिया दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *