सहकारी महासंघको अध्यक्षमा ओमदेवी मल्ल

Sharing is caring!

पुस २८, २०८० । चरम विवादकाबिच राष्ट्रिय सहकारी महासंघ नेपालको अध्यक्षमा ओमदेवी मल्ल निर्वाचित भएकी छिन् । महासंघको ३१ औं वार्षिक साधारणसभाबाट मल्ल निर्वाचित भएकी हुन् ।

एमाले निकट सहकारीकर्मीहरुको समर्थनमा मल्लसहितको नयाँ कार्यसमिति निर्वाचित बनेको हो । निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्र निकट सहकारीकर्मी सहभागी नभएपछि मल्ललाई सर्वसम्मत रुपमा अध्यक्ष घोषणा गरिएको हो । सहकारी महासंघको ३० वर्षे इतिहासमा मल्ल पहिलो महिला अध्यक्ष बनेकी हुन् ।

साधारणसभाको पहिलो दिन शुक्रबार ६ः३० बजेसम्मका लागि तोकिएको उम्मेदवारी दर्ताको अन्तिम समयसम्म अध्यक्ष पदमा मल्लको मात्रै उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । अन्य पदमा पनि एमालेनिकटले मात्र उम्मेदवारी दिएका थिए । खुलातर्फको दुई उपाध्यक्षमा खेम बहादुर पाठक, डिबी बस्नेत र शेषकान्त गौतम साथै महिला उपाध्यक्षमा इन्दिरा पन्त निर्वाचित भए । ।

तर कांग्रेस र माओवादी केन्द्र निकट सहकारीकर्मीहरुले एमालेले एकलौटी गरेर आफूहरुलाई वाइपास गरेको माओवादीका सहकारी विभाग प्रमुख लिलामणी पोख्रेलले जानकारी दिए । ‘पटक पटक हामी सहमतिका लागि लाग्यौं तर एमालेका साथीहरूले मिल्न भन्दापनि दबाउनमा केन्द्रित हुनुभयो,’ प्रमुख पोख्रेलले भने,‘त्यसकारण प्रतिस्पर्धामा उत्रिनु वा प्रकृयाबाट अलग हुने दुई बाटोमध्ये एक बाटो रोजेका हौ ।’

महासंघको निर्वाचनका लागि तीन मुख्य राजनीतिक दलका सहकारीकर्मीहरुबीच पटक पटक छलफल भएपनि सहमति नभएपछि एमाले एक्लै अघि बढेको थियो । एमाले समर्थक सहकारीकर्मीहरुले मागेजति सिट उपलब्ध नगराएको भन्दै कांग्रेस र माओवादी समर्थक सहकारीकर्मीहरुले उम्मेदवारी नदिएका प्रतिक्रिया दिए । कांग्रेस–माओवादीले भने एमालेले पेलेर अघि बढ्न खोजेको र संस्था कब्जा गर्न खोजेको बताए ।

एमालेका सहकारी विभाग प्रमुख खगराज अधिकारी, कांग्रेसका सहकारी विभाग प्रमुख देवेन्द्रराज कंडेल र माओवादी केन्द्रका सहकारी विभागका प्रमुख पोखरेलसहित सहकारीका नेताहरुबिच छलफल भएपनि सहमति जुट्न नसकेपछि एमाले निकटका उम्मेदवारहरु निर्विरोध भएका हुन् ।

साधारणसभाका लागि महासंघको २१० औं बोर्ड बैंठकले मापदण्ड पुरा गरेका २८७ सदस्य संघहरुको केन्द्रीय प्रतिनिधिलाई कायम गरेको थियो । महासंघमा ३१८ सदस्य संघहरु आवद्ध भएपनि २८७ सदस्यले मात्रै आवश्यक मापदण्ड पुरा गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *