राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय

Share this news:

मंसिर १३, २०८० । सरकारले राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगको सिफारिस अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति तोकेको प्रवक्ता रेखा शर्माले बताइन् ।

उनले भनिन्, ‘आजको बैठकले राष्ट्रिय सभाको एक तिहाई सदस्यको रिक्त हुन लागेको पदपूर्तिका लागि २०८० माघ एघार गते निर्वाचन गर्ने निणर्य गरेकोे छ ।’ नेपालको संविधानको धारा ८६ को उपधारा ३ बमोजिम राष्ट्रियसभाका एक तिहाई सदस्यको पदावधि २०८० फागुन २० गते सकिँदै छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम सदस्यको पद रिक्त हुनुभन्दा ३५ दिन पहिले (माघ १५ गतेसम्म) निर्वाचन गरिसक्नुपर्ने कानूनी व्यवस्था छ । आगामी फागुन २० गते निर्वाचित १९ र सरकारबाट मनोनीत एक गरी २० सदस्यको पद रिक्त हुँदैछ । राष्ट्रियसभामा प्रत्येक दुई वर्षमा रिक्त हुने एक तिहाइ सदस्य पदको निर्वाचन हुँदै आएको छ ।

बैठकले नेपाल इन्जिनियरिङ सेवातर्फ रिक्त रहेको सचिव पदमा सरिता दवाडिलाई बडुवा गर्ने तथा जाजरकोट भूकम्प प्रभावितको लागि अस्थाई आवास निर्माण गर्न सेना र शशस्त्र प्रहरीलाई खटाउने निणर्य पनि गरेको छ ।
यस्तै बैठकले सैनिक विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेललाई तोक्ने निणर्य गरेको छ ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *