आज शहीद दिवस मनाइदै

Sharing is caring!

माघ १६, २०८० । देश र जनताका लागि ज्यानको बली चढाउने शहीदहरुको सम्मानमा मंगलबार शहीद दिवस मनाइदैछ । सरकारले विगतमा जस्तो सार्वजनिक विदा दिएको छैन, तर देशभरि राष्ट्रिय पर्वकारुपमा मनाउने निर्णय गरेको छ ।

इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा हरेक वर्ष साताव्यापी कार्यक्रम गरी शहीद दिवस मनाउने गरिएको छ ।
यो वर्ष पनि शहीद दिवस मुल समारोह समितिले एक सातासम्म विभिन्न कार्यक्रम गरेको छ । मंगलबार दिवसको दिन शहीद उद्यान लैनचौरमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित विशिष्ट अतिथिहरूको उपस्थितिमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ ।

विहान शान्तिबाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्याण्डसहित मार्चपास र शहीदको तस्वीर राखिएको बग्गीसहितको प्रभातफेरी शहीद उद्यान लैनचौर पुग्नेछ । त्यसपछि हुने श्रद्धाञ्जली सभामा प्रधानमन्त्री दाहालसहित उच्च पदस्थहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यो वर्ष फागुन १ गते जनयुद्ध दिवसलाई सार्वजनिक विदा दिने निर्णय गरेको सरकारले शहीद दिवसको विदा कटौती गरेको थियो । तर अदालतले जनयुद्ध दिवसको विदा समेत खारेज गरिदिएको छ । आगामी वर्ष भने सरकारले शहीद दिवसकै दिन सार्वजनिक विदा दिने निर्णय गरिसकेको छ ।

वि.सं. १९९७ माघ १० गते निरंकुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराज शास्त्रीलाई टेकुस्थित खरीको रूखमा झुन्ड्याएर हत्या गरिएको थियो । त्यस्तै, सोही वर्ष माघ १३ गते सिफलमा धर्मभक्त माथेमालाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गंगालाल श्रेष्ठलाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो । नेपालको पहिलो शहीद भने लखन थापालाई मानिन्छ । उनै शहीदहरूको सम्झानामा सरकारले हरेक वर्ष शहीद दिवस मनाउने चलन बसालेको थियो ।

पछिल्लो पटक मुलुकमा झैझगडा र दुर्घटनामा ज्यान गुमाएका व्यक्तिलाई समेत शहीद घोषणा गर्नुपर्ने र १० लाख आर्थिक सहयोगका लागि दबाब दिने प्रचलनले वास्तविक शहीदको भावनामा चोट पुगेको गुनासो समेत बढ्दो रहेको छ । जसकारण शहीदको परिभाषा नै बदल्नुपर्नेसम्मको माग छ ।

हालै प्रधानमन्त्री दाहालले जनयुद्धका अझै करिब तीन हजार जनालाई शहीद घोषणा गर्ने तयारी रहेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *