आइसीसी टी–२० विश्वकप क्रिकेट : नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित

Share this news:

जेठ २३, २०८१ । आइसीसी टी–२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाल पराजित भएको छ । मंगलबार राति भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको हो । डालसको ग्रान्ड प्रेरी स्टेडियममा नेदरल्याण्ड्सका कप्तान स्कट एडवर्ड्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए । स्पिनर टिम प्रिन्गल र लोगान भान बेकको उत्कृष्ट बलिङका कारण नेपाल ४ बल बाँकी हुँदै १०६ रनमा अलआउट भएको थियो ।

जवाफमा म्याक्स ओ’डाउडको नटआउट अर्धशतकको मद्दतले नेदरल्याण्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । प्रिन्गल प्लेयर अफ दि म्याच घोषित भए । यो जितसँगै नेदरल्याण्ड समूह ‘डी’ मा दक्षिण अफ्रिकापछि दोस्रो स्थानमा उक्लिएको छ । नेदरल्याण्ड्स र दक्षिण अफ्रिकाको समान दुई–दुई अंक छ ।

नेपालको पारि
नेदरल्याण्ड्सले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो । चार ओभरमा नेपालको ओपनिङ जोडी कुशल भुर्तेल (७), आसिफ शेख (४) टिम प्रिन्गल र भोन बेकले आउट गरे । पावरप्लेमा नेपालले दुई विकेट गुमाएर २९ रन मात्र जोडेको थियो । अनिल साह (११)ले दुई चौका प्रहार गरे पनि प्रिन्गलले उनलाई पनि आउट गरे । नेपालले ९.१ ओभरमा ५० रन पुरा गरेको थियो । कप्तान रोहित पौडेल एक छेउमा टिकेका थिए । भान मिकरेनले १० औं ओभरमा कुशल मल्ल (९) लाई पनि आउट गरे ।

त्यसपछि दिपेन्द्र सिंह ऐरीलाई बास डी लिडेले सजिलै पभेलियन पठाए । उनले १ रन बनाउन सके । सोही क्रममा मीकरणले सोमपाल कामी (०) र लिडेले करण केसी (१७)लाई आउट गरे । प्रिन्गलले कप्तान रोहित पौडेललाई तेस्रो शिकार बनाए । रोहित नेपाली टोलीका लागि सर्वाधिक रन बनाउने खेलाडी बने । उनले ३७ बलमा ३५ रनको इनिङ खेले । सोही क्रममा भान बेकले अभिनाश बोहरा (०) लाई आउट गर्दै नेपालको इनिङ्स १९.२ ओभरमा १०६ रनमा समेट्यो ।

नेदरल्यान्ड्सको पारि
१०७ रनको लक्ष्य पछ्याउन आएको नेदरल्यान्ड्सको टोलीको सुरुवात राम्रो हुन सकेन । माइकल लेभिट एक रन बनाएर आउट भए । त्यसपछि म्याक्स ओडाउड र विक्रमजीत सिंहले दोस्रो विकेटका लागि ४० रनको साझेदारी गरे । विक्रमजीत २२ रन बनाएर आउट भए । साइब्रान्ड एन्जेलब्रेच १४ रन बनाएर आउट भए भने कप्तान स्कट एडवर्ड्स ५ रन बनाएर आउट भए । अन्त्यमा, म्याक्स ओडाउड र बास डी लीडे नटआउट रहँदै नेदरल्याण्ड्सको टोलीलाई जित दिलाए । म्याक्सले ४८ बलमा चार चौका र एक छक्काको मद्दतमा ५४ रन बनाए भने डी लिडेले १० बलमा ११ रन बनाए । नेपालका लागि सोमपाल कामी, दीपेन्द्र सिंह र अभिनाशले समान १–१ विकेट लिए ।

नेपाली टोली दोस्रोे पटक टी–२० विश्वकप खेल्दैछ । यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो । नेपाली टोलीले छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै यस टी–२० विश्वकपको यात्रा तय गरेको हो ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *