आइसीसी टी–२० विश्वकप क्रिकेट : उपाधिका लागि भारत र दक्षिण अफ्रिका भिड्ने

Share this news:


असार १४, २०८१ । आइसीसी टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि भारत र दक्षिण अफ्रिका भिड्ने भएका छन् ।
दक्षिण अफ्रिकाले अफगानिस्तानलाई पराजित गर्दै फाइनलमा स्थान बनाउँदा भारतले डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्डलाई ६८ रनले पराजित गर्दै फाइनलमा स्थान पक्का गर्न सफल भयो ।

वेस्टइन्डिजको गयानामा विहीबार राति भएको खेलमा भारतले दिएको १७२ रनको लक्ष्य पछ्याएको डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड १६.४ ओभरमा सबै विकेट गुमाएर जम्मा १०३ रन बनायो ।

इंग्ल्यान्डका लागि ह्यारी ब्रुकले १९ बलमा २५ तथा कप्तान जस बटलरले १५ बलमा २३ रन बनाए । जोफ्रा आर्चरले १५ बलमा २१ तथा लियम लिविङस्टनले १६ बलमा ११ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङतर्फ भारतका लागि अक्षर पटेल र कुलदिप यादवले समान तीन तीन तथा जसप्रित बुमराहले दुई विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७१ रन बनाएको थियो ।

भारतका लागि कप्तान रोहित शर्माले ३९ बलमा ६ चौका र २ छक्काको सहयोगमा ५७ रनको अर्धशतकीय पारि खेले । सुर्यकुमार यादवले ३६ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४७ रन बनाए । तेस्रो विकेटका लागि शर्मा र यादवले ५० बलमा ७३ रनको साझेदारी गरे ।

हार्दिक पान्ड्याले १३ बलमा २३ तथा रविन्द्र जडेजाले ९ बलमा अविजित १७ रन बनाए ।

इंग्ल्यान्डका लागि क्रिस जोर्डनले तीन तथा जोफ्रा आर्चर, रिच टोप्ले, साम करन र आदिल राशिदले समान एक एक विकेट लिए ।

भारत र दक्षिण अफ्रिकाबीचको उपाधि भिडन्त शनिबार हुनेछ ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *