मेरो लक्ष्य सत्ता प्राप्ती होइन् : प्रधानमन्त्री प्रचण्ड

Sharing is caring!

फागुन २४, २०८० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदको जोखिम उठाएरै भएपनि आफ्नो राजनीतिक प्रतिबद्धता अनुसार, राष्ट्रनिर्माणमा लाग्ने दोस्रो विकल्प रोजेको बताएका छन् ।

बिहीबार संसद्मा सांसदहरुले उठाएका विषयमा जवाफ दिँदै प्रधानमन्त्री दाहालले आफुसँग औसत र तदर्थ सरकार चलाएर पदको रक्षा गरिरहने कि पदको जोखिम उठाएरै भएपनि आफ्नो राजनीतिक प्रतिबद्धता अनुसार, राष्ट्रनिर्माणमा लाग्ने ? भन्ने दुई वटा विकल्प रहेकोमा आफुले दोस्रो रोजेको प्रष्ट पारे ।

उनले भने,‘मसँग दुई विकल्प थिए, औसत र तदर्थ सरकार चलाएर पदको रक्षा गरिरहने कि पदको जोखिम उठाएरै भएपनि आफ्नो राजनीतिक प्रतिबद्धताअनुसार, राष्ट्र निर्माणमा लाग्ने ? मैंले दोस्रो विकल्प रोजेँ त्यो कति जोखिमपूर्ण थियो र छ, पछिल्ला दुई दिनका घटनाक्रमले देखाइरहेका छन् । अब यो कति परिणामुखी हुन्छ, त्यो पनि विश्वासको मत लिने बेलासम्म प्रारम्भिक रूपमा प्रमाणित भइसक्ने मेरो विश्वास छ ।’

उनले आफ्नो लक्ष्य सत्ता नभई देशमा सुशासन, सामाजिक न्याय र समृद्धि कायम गर्ने रहेको बताए । गठबन्धनका सबै घटकका तर्फबाट आफू सुशासन कायम गर्ने कार्यमा प्रतिबद्ध रहेको उनको भनाई छ ।

उनले भने, ‘मलाई विश्वास छ, हामीले एकै ठाउँमा उभिएर शासनका लक्ष्यहरू हासिल गर्नेछौँ, गठबन्धनका सबै घटकका तर्फबाट म संकल्प गर्दछु, हाम्रो लक्ष्य सत्ता हुने छैन, सुशासन, सामाजिक न्याय र समृद्धि हुनेछ ।’ आफूले सरकारको गतिसँग असन्तुष्ट छु भनेर पटकपटक भनेको स्मरण गर्दै प्रधानमन्त्रीले आउँदा दिनमा सरकारका काम र परिणामबाट प्रमाणित हुने विश्वास व्यक्त गरे ।

आफूले चालेका कदम देश र जनताको हितमा रहेको स्पष्ट पार्दै उनले भने कसैलाई मेरो कदम अस्थिरता लाग्न सक्छ, कसैलाई गतिशीलता तर यसको केन्द्रमा म छैन, मेरो पद छैन, देश र जनताको हित छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *