सुनचाँदी रत्न आभूषण महासंघमा नयाँ नेतृत्व छनोट तयारी

Sharing is caring!

फागुन १८, २०८० । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको १०औं वार्षिक साधारण सभा एवम् अधिवेशन काठमाडौंमा हुने भएको छ ।

महासंघको साधारणसभा एवम् अधिवेशन काठमाडौं चैत २ र ३ गते हुने महासचिव किसान सुनारले बताए । उनका अनुसार महासंघको साधारण सभा एवम् अधिवेशनमा देशभरबाट ४ सय बढी प्रतिनिधिहरुको सहभागिता रहनेछ ।
‘महासंघको दशौं वार्षिक साधारण सभा एवम् अधिवेशन काठमाडौंमा चैत २ र ३ गते गर्दै छौं,’ उनले भने, ‘अहिले त्यसैको तयारीमा छौं । अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ ।’

मुलुकमा संघीयता कार्यान्वयनसँगै आभूषण महासंघको प्रथम प्रादेशिक विधान संशोधनपछि पहिलो अधिवेशन हुन लागेको उनले बताए । ‘मुलुकले अख्तियार गरेको संघीय प्रणालीलाई आत्मसात गर्दै महासंघले नगर, उप–महानगर, जिल्ला, प्रदेश र संघीय गरी सबै तहमा सांगठनिक संचरना निर्माण गरी कार्य सम्पादन गरिरहेका छौं,’ उनले भने ।
विस.२०३९ माघ २७ गते स्थापना भएको महासंघ गहना व्यवसायीहरुको अग्रज संघीय संस्था हो ।

महासंघको वार्षिक साधारण सभा एवम् अधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ । अधिवेशनबाट ४१ सदस्यीय कार्यसमिति चयन हुने जानकारी उनले दिए । अधिवेशनबाट अध्यक्ष, विशिष्ट सदस्य, प्रथम उपाध्यक्ष, द्धितीय उपाध्यक्ष, तृतीय उपाध्यक्ष, महासचिव, सचिव,कोषाध्यक्ष सह–कोषाध्यक्ष १-१ जना निर्वाचित हुनेछन् ।

यस्तै साधारणसभा एवम् अधिवेशनबाट १९ जना, एशोसिएटबाट ३ जना, महिला समूहबाट ३ जना र सात प्रदेशबाट १-१ जना निर्वाचित हुनेछन् । यसका लागि महासंघको निर्वाचन समितिले तालिका प्रकाशित गरेको छ । समिति संयोजक बद्रीप्रसाद कोइरालाका अनुसार फागुन २२ गते मतदाता नामावली प्रकाशन, मतदाताउपर दाबी विरोध २३ गते, अन्तिम मतदाता नामावली प्रकाशन फागुन २४ गते, उम्मेदवारी मनोनयन दर्ता फागुन २७ गते, उम्मेदवारको प्रथम नामावली प्रकाशन फागुन १९ गते हुनेछ । उम्मेदवारका मनोनयनपत्र माथि दाबीविरोध र छानबिनको निर्णय फागुन ३० गते हुनेछ ।

उम्मेदवारहरुले मनोनयन पत्र फिर्ता चैत १ गते लिन सक्नेछन् भने सोही साँझ उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुनेछ । महासंघको चैत २ गते बन्द सत्रसँगै दिउँसो २ बजेपछि मात्र उद्घाटन सत्र सञ्चालन हुनेछ । महासंघको नयाँ नेतृत्व सर्वसम्मत नभए चैत ३ गते निर्वाचन हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *