बाक्लो हुस्सुका कारण हवाई उडान प्रभावित

Sharing is caring!

पुस २६, २०८० । केही दिनयता बाक्लो हुस्सुका कारण विराटनगर विमानस्थलबाट हुने उडानहरु प्रभावित बनेका छन् । काठमाडौंबाट आउने,यताबाट फर्कने र पहाडी जिल्ला जाने उडानहरु हुन सकेका छैनन् ।

प्रतिकूल मौसमका कारण हिजो(बुधबार)पनि उडान प्रभावित भएको थियो । आज (बिहीबार) पनि बिहानका उडानहरु भएका छैनन् । मौसम तत्काल खुल्ने संकेत नदेखिएकाले आज दिनभर उडान हुने वा नहुने बारे टुंगो नभएको विराटनगर बिमानस्थलका सूचना अधिकारी युवराज भण्डारीले जानकारी दिए ।

बाक्लो कुहिरो लाग्ने गरेकाले ‘भिजिविलिटी’ कमजोर रहेको जनाइएको छ । बिमानस्थलका सूचना अधिकारी भण्डारीका अनुसार हिजो साँझ बुद्ध एयरको एउटा विमानले मात्र काठमाडौंका लागि उडान भरेको थियो ।

हिजोका अरु सबै उडान रद्द भएका थिए । उडान र अवतरणका लागि १ हजार ६ सय मिटर भिजिबिलिटी र २ हजार मिटर सिलिङ चाहिनेमा बुधवार भिजिविलिटी एक हजार मिटर मात्र पुगेको थियो ।

विराटनगरबाट काठमाडौंंका लागि दैनिक बुद्ध एअरको ७, यति एअरलाइन्सको ५, श्री एअरलाइन्सको ३ र सौर्य एअरलाइन्सको एउटा गरी १६ वटा उडान हुने गरेको छ ।

विराटनगरबाट हुने ताप्लेजुङलगायत गन्तव्यका उडान भने प्रतिकूल मौसमका कारण नियमित रुपमा केही समयका लागि बन्द गर्ने विमानस्थलले निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *