जलविद्युतमा वैकल्पिक ऊर्जा मिश्रित अवधारणा लागू गर्नु पर्ने आवश्यक : मन्त्री बस्नेत

Share this news:

जेठ २४, २०८१ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतले सुक्खायाममा विद्युत आयात गर्नुपर्ने अवस्था अन्त्य गर्नका लागि ऊर्जा मिश्रणको अवधारणामा जानुपर्ने बताएका छन् ।

प्रतिनिधि सभामा उठेका प्रश्नहरुको बिहीबार जवाफ दिँदै उनले वर्षायाम विद्युत उत्पादन धेरै हुने र सुक्खायाममा कम हुने भएकाले जलविद्युतबाहेकका स्रोतमा लगानी बढाएर ऊर्जा मिश्रणको अवधारणा लागू गर्नु नै पर्ने बताए ।

उनले भने, ‘सुक्खायाममा आजको दिनमा पनि हामी आयात गर्नुपर्ने अवस्था छ । यो अवस्थाको अन्त्य गर्नको लागि हामीले इनर्जी मिक्सको अवधारणामा जानैपर्ने हुन्छ । त्यो भनेको जलविद्युत मात्रले पुग्ने भएन, त्यसमा जलविद्युतको साथै सोलार पावर, विन्ड पावरलगायत सबै अन्य ऊर्जाको पनि प्रयोगबाट यो ऊर्जा मिश्रणको अवधारणाबाट गएर नै हाम्रो वर्षायाम र सुक्खायामको ग्याप फिल गर्नको लागि केही हदसम्म सक्छौ भने हाम्रो विश्वास हो । त्यस अर्थमा पनि सोलारको क्षेत्रमा काम गर्न जरुरी छ ।’

उनले आगामी आर्थिक वर्ष विद्युत आयातभन्दा निर्यात बढी गर्न सकिने विश्वास पनि व्यक्त गरेका छन् । स्वच्छ ऊर्जाको महत्व आवश्यकताको सन्दर्भमा विश्वव्यापी विभिन्न फोरमहरुमा हुने छलफलमा अथवा जलवायु कूटनीतिको विषय पनि महत्वका साथ नै अगाडि आइरहेको उनले बताए ।

मुलुकमा अधिकांश आयोजना नदीको बहावमा आधारित रहने भएकाले पानी घट्दा ऊर्जा उत्पादन घट्छ । आन्तरिक माग नै धान्न पर्याप्त नभइरहेको सन्दर्भमा सौर्य र वायु ऊर्जाका विकल्पमा पनि ध्यान दिनुपर्ने उनले औंल्याए । जलविद्युत आयोजनाका उत्पादनमा वैकल्पिक ऊर्जाको मिश्रण हुन सके आन्तरिक माग धान्नुका साथै निर्यात पनि सहजीकरण हुने उनले बताए ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *