भ्रष्टाचार प्रकरणमा मुछिने कर्मचारीको संख्या बढ्यो

Share this news:

जेठ १७, २०८१ । देश र जनताको सेवा गर्ने शपथ खाएर निजामती सेवामा प्रवेश गरेका राष्ट्रसेवक कर्मचारीहरू भ्रष्टाचारमा संलग्न हुने क्रम बढेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैनिकजसो कुनै न कुनै कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्दैै आइरहेपछि भ्रष्टाचारमा लिप्त कर्मचारीको पर्दाफास हुन थालेको छ ।

अख्तियारका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्त पहिलो सातासम्म भ्रष्टाचारमा संलग्न ४ सय २९ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो । यो क्रम जारी रहेको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार सो अवधिमा २ सय ३४ जनप्रतिनिधिहरूमाथि भ्रष्टाचार मुद्दा दायर गरिएको छ । चालु आवको हालसम्मको अवधिमा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेकाहरूको कुल संख्या भने १ हजार ३ सय ३१ रहेको छ । सो अवधिमा १ सय ५९ वटा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

गत आर्थिक वर्ष २०७९/८० मा भन्दा चालु आर्थिक वर्षमा भ्रष्टाचारमा मुद्दा दायर हुने क्रम बढ्ने देखिएको छ । गत चालु आवको १२ महिनामा १ सय ६२ वटा मुद्दा दायर भएको थियो । हाल झण्डै साढे १० महिनाको अवधिमा १ सय ५९ वटा मुद्दा दायर भइसकेको छ । यस विश्लेषणले पनि गत वर्षभन्दा यो वर्ष मुद्दा दायर हुने क्रम बढ्ने अख्तियारको विश्लेषण छ ।

जेठको पहिलो सातासम्म अख्यिारबाट मुद्दा दायर भएकाहरूमा ९ जना विशिष्ट श्रेणी(सचिव) स्तरका कर्मचारी छन् । उनीहरू ठेक्का पट्टा, अकुत सम्पत्तिलगायतका भ्रष्टाचार प्रकरणमा परेका हुन् । यसै गरी सो अवधिमा भ्रष्टाचारमा मुद्दा लाग्नेमा २३ जना सहसचिवस्तरका कर्मचारी छन् । यस्तै, भ्रष्टाचार मुद्दा लाग्नेमा उपसचिवस्तरका ५९ जना, शाखा अधिकृतस्तरका १ सय ३५ जना, लेखापाल ४३, नासु तथा सब इन्जिनियरस्तरका १ सय २२ , खरिदार २४, जुनियर कर्मचारी १२ र कार्यालय सहयोगी २ जना रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । भ्रष्टचार मुद्दा दायर हुनेमा प्रशासन सेवाका १ सय ९३ जना र प्राविधिक सेवाका २ सय ३ जना रहेका छन् ।

अख्तियारका अनुसार सो अवधिमा भ्रष्टाचार मुद्दा दायर हुने जनप्रतिनिधिहरूको संख्या पनि बढ्दो छ । सो अवधिमा निर्वाचिततर्फ ७१ जना तथा मनोनीततर्फ १ सय ६३ गरी २ सय ३४ जनप्रतिनिधिहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको थियो । यसै गरी व्यवसायी ५६, बिचौलिया र लेखापढी व्यवसायी गरी २ –२ जनाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ भने विभिन्न उपभोक्ता समितिका सदस्य तथा सरकारी अधिकारीहरूसँगको मिलेमतोमा भ्रष्टाचार गर्ने सर्वसाधारण तथा अन्य ६ सय ९ जनाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

आयोगका अनुसार भ्रष्टाचार मुद्दाको अनुसन्धान र छानबिन गर्ने क्रममा देखिएका भ्रष्टाचारजन्य प्रवृत्तिमा सार्वजनिक सम्पत्तिको हिनामिना, हानिनोक्सानी वा दुरुपयोग गर्ने, घुसररिसवत लिने दिने, गैरकानुनी रूपमा सम्पति आर्जन गर्नेजस्ता भ्रष्टाचारजन्य कार्यहरू अधिक रूपमा देखिने गरेको छ ।

कर्मचारी को कति ?

विशिष्ट श्रेणी सचिवसरह : ९
सहसचिव वा सोसरह : २३
उपसचिव, सीडीई वा सोसरह : ५९
शाखा अधिकृत, इन्जिनियर : १३५
लेखापाल : ४३
नासु, सब इन्जिनियर वा सोसरह : १२२
खरिदार : २४
जुनियर कर्मचारी : १२
कार्यालय सहयोगी : २

जनप्रतिनिधि तथा अन्य को कति ?

जनप्रतिनिधि निर्वाचित : ७१
मनोनीत : १६३
लेखापढी व्यवसायी : २
बिचौलिया : १
व्यवसयी : ५६
अन्य : ६०९

यो खबर नेपाल समाचारपत्रबाट लिएका हौ ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *