अर्थतन्त्रका सूचकहरु सुधार हुँदै गएका छन् : प्रधानमन्त्री दाहाल

Sharing is caring!

पुस ६, २०८० । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको अर्थतन्त्रका सूचकहरु बिस्तारै सुधार हुँदै गएको बताएका छन् ।

विराटनगरमा मोरङ व्यापार संघले आयोजना गरेको ट्रेड एक्सपोको उद्घाटन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

अर्थतन्त्रका कतिपय सूचकहरु आशलाग्दो रुपमा सुधार हुँदै गएको उल्लेख गर्दै उनले तर पनि अर्थतन्त्रमा दबाब भने कायमै रहेको बताए ।

‘कतिपय कुराहरुमा सुधार आइरहेको छ’ प्रधानमन्त्री दाहालले भने, ‘तर अझै पनि अर्थतन्त्रमा पक्कै दबाब छ । यसमा अझै हामीले केही गर्न बाँकी छ ।’

पछिल्लो समय नेपालमा पर्यटन आगमन बढेको उल्लेख गर्दै यो निकै सकारात्मक पक्ष भएको प्रधानमन्त्रीले बताए ।

अबका दिनमा नेपालमा केही छैन र केही हुँदैन भन्ने मानसिकताबाट उठेर सबैले आफ्नो ठाउँबाट काम गर्नुपर्ने अवस्था रहेको उनले उल्लेख गरे ।

‘नेपालीहरु विदेशिने क्रम बढिरहेको छ । घटेको छैन । यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेमा गम्भीर छलफल गरी नीति निर्माणमा ध्यान दिनुपर्ने छ’ प्रधानमन्त्रीले भने ।

नेपालको अवस्थाप्रति धेरै नै नकारात्मक भावना हुने खाले प्रचार र निरासाजनक कुरा भइरहेको भन्दै उनले यसमा असन्तुष्टि जनाए ।

उनले भने, ‘नेपाल खत्तम छ । कोही ठिक छैन । सबै नेता र पार्टी भ्रष्ट भए । नेपालमा बस्न हुँदैन भन्ने भाष्य निर्माण गर्ने प्रयास भइरहेको छ’ उनले भने, ‘यसो गरिनु दुर्भाग्यपूर्ण हो । हामीले सकेसम्म के गर्न सकिन्छ गरिरहेका छौं ।’

यसैगरी, राजश्व छली र चुहावटलाई नियन्त्रण गर्नेमा पनि सरकारले आवश्यक पहलकदमी गर्ने भन्दै प्रधानमन्त्रीले उद्योगी–व्यवसायीले अघि सारेका समस्याहरु समाधान गर्न सरकार गम्भीर रहेको बताए ।

प्रधानमन्त्री दाहालले विराटनगर कटहरी कार्गो रेल सञ्चालन नियमित गर्न सरकारले आवश्यक प्रक्रिया अगाडि बढाउने जानकारी पनि दिए ।

कोशी प्रदेशका प्रमुख धार्मिक स्थलहरुलाई धार्मिक पर्यटनको केन्द्र बनाउन सरकारले आवश्यक काम गर्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *