नेकपा (एस)को केन्द्रीय कमिटीमा युवालाई ४० प्रतिशत आरक्षण

Sharing is caring!

पुस १३, २०८० । नेकपा एकीकृत समाजवादीले पार्टीमा युवाहरूका लागि ४० प्रतिशत अनिवार्य सहभागिताको व्यवस्था गर्ने भएको छ ।

राजनीतिमा युवालाई आकर्षित गर्न र पार्टी संगठनलाई मजबुद बनाउन एकीकृत समाजवादीले विधानमा तोकेरै पार्टी संगठनमा ४० प्रतिशत युवाहरूलाई सामेल गराउने व्यवस्था गर्न लागेको हो । विधानका व्यवस्थामाथि छलफल गर्न बुधबारदेखि जारी केन्द्रीय कमिटी बैठकमा नेताहरूले पार्टीमा युवाहरूलाई आकर्षित गर्नुपर्नेमा जोड दिएका छन् भने प्रस्तावित विधानको पार्टीमा ४० प्रतिशत युवालाई सामेल गराउने व्यवस्थामा समर्थन गरेका छन् ।

तेश्रो दिन शुक्रबार पनि केन्द्रीय कमिटी बैठक बस्दैछ । विहान ११ बजेबाट बस्ने बैठकमा विधानका मुलतः चार वटा विषयहरूमा छलफल हुने एक नेताले जानकारी दिए । ती नेताका अनुसार संगठन संरचना, महाधिवेशनका प्रतिनिधि, समावेशिता र युवा सहभागिताका विषयमा विधानका व्यवस्थाहरूबारे बैठकमा छलफल भइरहेको छ ।

बुधबारको बैठकमा करिब २० जना नेताहरूले धारणा राखेकोमा बिहीबार करिब ८० जना नेताहरूले धारणा राखेका थिए । बाँकी नेताहरूले शुक्रबार धारणा राखेपछि बैठक सम्पन्न गर्ने तयारी छ ।

विधानका व्यवस्थाहरूमाथि विभिन्न सुझावहरू आएका छन् । ती सुझावहरूलाई बैठकका लागि गठन भएको कार्यदलले समावेश गरेर प्रतिवेदन तयार गर्छ, त्यसका आधारमा विधानमा थपघट गरिनेछ,’ ती नेताले भने, ‘विधान आगामी केन्द्रीय परिषद् बैठकबाट पारित भएपछि लागू हुनेछ । एकीकृत समाजवादीले आगामी माघ १४ र १५ गते केन्द्रीय परिषद् बैठक बोलाएको छ ।

केन्द्रीय कमिटीका सदस्यहरूले पार्टीमा उमेर हदको व्यवस्था नराख्न सुझाव दिएका छन् भने संगठन संरचनातर्फ सचिवालयको व्यवस्था हटाएर स्थायी कमिटीलाई सक्रिय बनाउन माग गरेका छन् । उमेरले मान्छेको सक्रियतालाई रोक्न सक्दैन । सबैको एकैनाश हुन्छ भन्ने पनि हुदैन,’ ती नेताले भने, ‘त्यसकारण उमेर हदको व्यवस्था नगरौँ । सक्रियता र नेतृत्व क्षमताका आधारमा पार्टीले नेतृत्व चयन गर्ने कुरा नै व्यवहारिक हुन्छ भन्ने सुझावहरू आएका छन् ।’

केन्द्रीय कमिटी भने २५१ देखि ३०० सम्मको बनाउनुपर्ने धेरै सदस्यहरूको सुझाव छ । ‘धेरै ठूलो बनाए पनि त्यो भद्धा हुन्छ, त्यसकारण बढीमा २५१ देखि ३०० सम्मको मात्रै बनाऔँ भन्ने सुझावहरू आएका छन्,’ ती नेताले थपे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *