आयरल्याण्ड–नेपाल संसदीयमैत्री समूह गठनप्रति खुशी

Sharing is caring!

पुस २४, २०८० । सभामुख देवराज घिमिरे र आयरल्याण्डको माथिल्लो सभा शाअनड एरेनका अध्यक्ष जेरी बट्टिमरबीच शिष्टाचार भेट भएको छ ।

नेपालको पाँच दिने औपचारिक भ्रमणमा आएका अध्यक्ष बट्टिमरले सभामुख घिमिरेलाई सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेट गरेका हुन्उ क्त भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय आदान प्रदान लगायतका विषयमा छलफल भएको छ ।

भेटमा सभामुख घिमिरेले सन् १९९९ अगस्त १९ मा कूटनीतिक सम्बन्ध स्थापना भएपश्चात नेपाल र आयरल्याण्डबीच मैत्रिपूर्ण एवम् सौहार्द्रपूर्ण रहेको भन्दै खुशी व्यक्त गरेका छन् । भेटमा उनले संसदीय लोकतन्त्र, मानव अधिकार, विधिको शासन र स्वतन्त्रता नेपाल र आयरल्याण्डका साझा प्रतिबद्धताहरु रहेको उल्लेख गरे ।

आयरल्यान्डको संसदमा आयरल्याण्ड–नेपाल संसदीयमैत्री समूह गठन भएकोमा खुशी व्यक्त गर्दै सभामुख घिमिरेले आगामी दिनमा दुई देशबीच संसदीय प्रतिनिधिमण्डलको भ्रमण आदानप्रदान गर्न सहज हुने र यसबाट दुई देशबिचको संसदीय सम्बन्ध अझ मजबुत हुने विश्वास रहेको बताए ।

त्यस्तै, उनले युरोपेली संघको एक महत्वपूर्ण सदस्यको हैसियतमा नेपालको विकास प्रयासलाई युरोपेली संघमार्फत थप सहयोग उपलब्ध गराउने दिशामा सकारात्मक वातावरण सिर्जना गर्न सहयोग गर्न अनुरोध गरे । भेटमा आयरल्याण्डका अध्यक्ष जेरी बट्टिमरले सभामुखको भ्रमणका क्रममा शिक्षा क्षेत्रको आदान प्रदानमा देखाउनुभएको चासो सम्बोधन गर्न आयरल्याण्डको शिक्षा मन्त्रालय र संसदको शिक्षा समितिले काम गरिरहेको जानकारी दिएका थिए ।

त्यस्तै, उनले नेपालको संविधानले लोकतन्त्रलाई संस्थागत गर्न र विकासमा सहयोग गर्ने अपेक्षा लिएको बताउँदै नेपालले शान्तिका क्षेत्रमा विश्वमा गरेका प्रयासहरु उदाहरणीय रहेको भन्दै प्रशंसा समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *