मोर्चा संयोजकमा माधव नेपाललाई निरन्तरता दिने, सरकार बलियो बनाउने

Sharing is caring!

पुस ११, २०८० । समाजवादी मोर्चाको बालुवाटार बैठकले मोर्चामा आबद्ध दलका शीर्ष नेताहरुलाई जसरी पनि पक्राउ पर्नबाट जोगाउने निर्णय गरेको छ ।

बुधबार साँझ बैठकका निर्णय सुनाउँदै एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले मोर्चा संयोजकमा नेता माधवकुमार नेपाललाई निरन्तरता दिने, मोर्चाका जिल्ला संगठन बढाउने, सरकारलाई बलियो बनाउने र अदालतमा रहेका मुद्दाबारे विभिन्न चरणमा सरकारसँग भएका राजनीतिक सहमतिबारे जानकारी गराउने निर्णय भएको बताए ।
उनका अनुसार मोर्चाले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई संयोजकमा निरन्तरता दिने निर्णय गरेको छ । ‘मोर्चाको अहिलेसम्म देशका ४७ जिल्लामा कमिटी गठन भएका छन् । पुस मसान्तभित्र सबै जिल्लामा कमिटी विस्तारको निर्णय भएको छ,’ उनले भने ।

मोर्चाले माओवादी केन्द्रका पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई बलियो बनाउने, जनतालाई दिने सेवामा सल्लाह दिने पनि निर्णय गरेको छ । माघ १६ को सहीद दिवस मनाउन अन्य दलसँग मोर्चाले सल्लाह गर्ने भएको छ ।

यस्तै मोर्चाले शीर्ष नेताहरुविरुद्ध अदालतमा रहेका मुद्दालाई गम्भीरतापूर्वक लिएको नेता पाण्डेले बताए । नेता दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादवविरुद्ध अदालतमा मुद्दा छन् । मोर्चामा आबद्धमध्येको घटक नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेताहरु विरुद्ध पक्राउ पुर्जी नै जारी भएको छ । यी तमाम मुद्दाहरुमा सरकारसँग भएका पटक पटकका राजनीतिक सम्झौता सहमति अदालतलाई जानकारी गराउने निर्णय भएको नेता पाण्डेले बताए ।

गत ४ मा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाका शीर्ष नेताहरुले समाजवादी मोर्चा गठन गरेको मोर्चाको बुधबारको बैठकमा विप्लव समूहका नेताविरुद्ध पक्राउ पुर्जीका विषयमा गम्भीर बहस भएको थियो ।

बैठकमा नेत्रविक्रम चन्द ‘विप्लव’सँगै नेकपाबाट खड्गबहादुर विश्वकर्मा पनि सहभागी थिए । यस्तै, प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव लगायत सहभागी थिए । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *