प्रधानमन्त्री प्रचण्ड सरकारमा सफल छन् : कांग्रेस नेता प्रधान

Sharing is caring!

पुस १०, २०८० । कांग्रेस नेता तथा पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गिरिजाप्रसाद कोइरालापछिको सफल रणनीतिकारको रुपमा देखिएको टिप्पणी गरेका छन् । उनले संसद्मा ३२ सिटसहित तेस्रो दल हुँदा पनि सरकारको नेतृत्वमा पुग्नु र एक वर्ष टिक्नु नै प्रचण्डको लागि सफलता भएको दाबी गरे ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले दाहाल सरकारको एक वर्ष पुगेको विषयमा आयोजना गरेको संवादमा उनले भने, ‘प्रचण्ड सफल हुनुमा अहिलेसम्म प्रधानमन्त्री रहिरहनु हो । ३२ सिट भएर पनि उहाँले एमाले र कांग्रेसकै केन्द्रविन्दुमा रहेर काम गर्नु नै सफलता हो । उहाँ कुशल रणनीतिकार हो । गिरिजाबाबुपछि राजनीतिमा चतु¥याइँ र छलछाम गरेर काम गर्ने प्रचण्ड नै हो ।’

कांग्रेस पहिलो र एमाले दोस्रो दलको रुपमा रहँदा पनि प्रचण्डले तेस्रो दलको रुपमा आफूलाई राजनीतिको केन्द्रविन्दुमा राख्न सक्नु सफलता भएको प्रधानले चित्रण गरे । शान्ति प्रक्रियाका लागि उनले गिरिजाप्रसादको योगदानको स्मरण गरे ।

‘प्रचण्डजी नेपालको राजनीतिको केन्द्रविन्दुमा हुनुहुन्छ, आशय र उद्देश्य राम्रो छ । १० वर्षको जनयुद्धपछि मुलुकलाई शान्तिको बाटोमा ल्याउनको लागि गिरिजाबाबुले पहल गर्नुभयो,’ उनले भने । प्रधानले माओवादीलाई मूलधारको राजनीति र शान्ति प्रक्रियामा ल्याउनका लागि दिल्लीमा गिरिजाप्रसादले बाबुराम र प्रचण्डसँग भेटेको प्रसंग स्मरण गरे ।

सरकारको एक वर्षको मूल्यांकन गर्दा आफूले प्रधानमन्त्री प्रचण्डमा अहिलेको व्यवस्थाबारे चिन्ता देखेको उनले सुनाए । उनले भने,‘प्रचण्डजीमा ठूलो चिन्ता छ । कतै यो व्यवस्था खतरामा पर्छ कि भनेर, एमाले अध्यक्ष केपी शर्मा ओलीको साथ छोड्नुको कारण पनि त्यही हो । ओलीले दुर्ई पटक संसद् विघटन गर्नुभयो । पछि उहाँले संसद् विघटनको बचाउ गर्नुभयो । अहिले कांग्रेस सरकारमा रहनुको प्रमुख कारण प्रचण्ड हो ।’

नेता प्रधानले अहिले नेपाली राजनीतिमा विभिन्न कान्डले सरकारलाई काम गर्न जटिल बनाएको बताए । ‘कतै यो संविधान नै डिरेल होला कि भनेर प्रचण्डमा चिन्ता छ,’ उनले भने,‘तर, केही गरौं भन्ने कुरा प्रचण्डमा छ । उहाँले राम्रो प्रयास गर्नुभएको छ । प्रयास कार्यान्वयन गर्ने कुरामा प्रचण्ड सफल देखिनुभएको छैन ।’ भुटानी शरणार्थी प्रकरण र सुन कान्ड मात्रै नभइ बढ्दो बेरोजगारीले युवाको विदेश पलायनको दर बढ्नु, एनसेलको सेयर बिक्री प्रकरण सरकारका लागि चुनौती भएको उनले बताए ।

‘अब सुदृढ सरकार दिनुपर्छ । सुशासनको सरकार दिनुपर्छ । प्रचण्डको खास काम गर्ने सो छ । उहाँ एउटा रफ्तारमा हुनुहुन्छ । केही गरौं भन्ने हुटुहुटी छ । कांग्रेसले असहयोग गरेको पनि छैन,’ उनले भने ।

उनले आफूले प्रधानमन्त्री प्रचण्डलाई यो एक वर्षको कामको समिक्षा गर्दा असफल भन्न नसक्ने बताए । उनले भने,‘यो एक वर्षको काम हेर्दा म उहाँलाई असफल भन्दिनँ । काम सन्तोषजनक छ । संसारभरि नेपाललाई प्रचण्डले चिनाउनुभयो । युएनका महासचिवलाई नेपाल ल्याउनुभयो । कोप–२८ मा जानुभयो र नेपालको मुद्दा जोडदार रुपमा उठाउनुभयो । अहिले वातावरणको विषयमा सरकार एकदमै सफल भयो । वैदेशिक नीति सन्तुलित छ । भारत र चीनसँग सन्तुलित सम्बन्ध राख्नुभएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *