नर्सिङ शिक्षा सङ्कटमा, ६७ वटा शैक्षिक संस्थाले चाबी बुझाए

Sharing is caring!

पुस १३, २०८० । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बाट सम्बन्धन प्राप्त ६७ वटा शैक्षिक संस्थाले पढाइ सञ्चालन गर्न नसकिने भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राइलाई चाबी बुझाएका छन्।

आफूहरूले विसं २०५७ देखि प्रवीणता प्रमाणपत्र तहको नर्सिङ कार्यक्रम सञ्चालन गरिरहेका भए पनि चिकित्सा शिक्षा आयोगको असहयोगका कारण २०७८ सालदेखि भने नयाँ भर्ना अवरुद्ध भएको शिक्षालय सञ्चालकहरूले बताएका छन् ।

मन्त्री राईले भने आफ्नो प्रयासले मात्रै प्राविधिक शिक्षालय सञ्चालकको माग पूरा गर्न कठिन हुने बताउनुभयो । यस विषयमा प्रधानमन्त्री, स्वास्थ्यमन्त्रीलगायत सरोकारवाला निकायका अधिकारीसँग छलफल गरेर समस्या समाधानका लागि आफूले पहल गर्ने उहाँले बताउनुभयो ।

यी शिक्षालयमा २०७७ सालमा भर्ना भएका विद्यार्थीको अन्तिमरवार्षिक परीक्षासमेत २०८० मङ्सिर २६ गते सम्पन्न भइसकेको छ । नयाँ विद्यार्थी नभएका कारण संस्था बन्द भएकोले चाबी मन्त्रीलाई बुझाइएको ती संस्थाको साझा संस्था फोरम फर हेल्थ एन्ड टेक्निकल साइन्सका महासचिव निर्मल सापकोटाले बताउनुभयो । ती शिक्षालयका सम्पूर्ण शैक्षिक पूर्वाधार प्रयोगविहीन अवस्थामा पुगेको सापकोटाले बताउनुभयो ।

सापकोटाका अनुसार हरेक शिक्षालयमा कार्यरत १५ जना नर्सिङ प्रशिक्षक १० जना प्रशासनिक कर्मचारी गरी देशभरमा एक हजार पाँच जना नर्सिङ प्रशिक्षक तथा ६७० जना प्रशासनिक कर्मचारीलाई बाध्यात्मक रूपमा बेतलबी बिदामा पठाइएको छ । नर्सिङ विषयमा विद्यार्थी भर्नासम्बन्धी निर्णय नहुने हो भने उहाँहरूलाई सेवामा फर्काउन नसकिने सापकोटाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “नर्सिङ कार्यक्रम बन्द रहेकोले शिक्षण संस्थामा भएको करोडौँको लगानी धराशयी भएको छ । अर्कातर्फ यसै वर्ष मात्र स्टाफ नर्स विषय अध्ययन गर्न चाहने १२ हजार विद्यार्थीमध्ये १० हजारभन्दा बढी विद्यार्थी र अभिभावकले अध्ययनकै लागि बिदेसिनु वा मन फेरेर अर्को विषय अध्ययन गर्न बाध्य हुनु परेको अवस्था छ ।”

संसद्ले २०४९ सालमा निर्माण गरेको सिटिइभिटी ऐन, २०४९ ले यो विषयको अभिभावकत्व निर्वाह गर्ने जिम्मेवारी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को अध्यक्षको हैसियतले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रहने व्यवस्था छ ।

“मन्त्रीज्यूबाट बन्द भएको शिक्षण संस्थामा भर्ना खोली नर्सिङ शिक्षामा अध्ययनको अवसर, शिक्षक तथा कर्मचारीको रोजगारीको अवसर, शिक्षण संस्थाको आर्थिक लगानीको सुरक्षाको प्रत्याभूति हुने अपेक्षा हामीले राखेका छौँ,” शिक्षण संस्थाको चाबी मन्त्रीलाई हस्तान्तरण गर्दै सापकोटाले भन्नुभयो ।

उहाँहरूले बिहीबार नै आफूहरूको समस्या समाधानको पहल गरिदिन अनुरोध गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्लगायतका निकायलाई पनि ज्ञापनपत्र बुझाउनुभएको छ ।

चिकित्सा शिक्षा ऐनमा भएको व्यवस्था अनुसार एक सय शøयाको अस्पताल हुने शैक्षिक संस्थालाई मात्रै नर्सिङ पढाइको अनुमति दिन सकिने भन्दै चिकित्सा शिक्षा आयोगले ती कलेजमा भर्नाको अनुमति नदिएको कलेज सञ्चालकहरूको भनाइ छ । यो खबर गोरखापत्रबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *