९० प्रतिशत मुआब्जा वितरण, पुससम्ममा जनकपुरसम्म रेल चल्ने

Sharing is caring!

असार ८, २०७५ । जयनगर हुँदै बर्दिबाससम्म जोडिने रेलमार्गका लागि ९० प्रतिशत मुआब्जा वितरण भइसकेको छ । पुससम्ममा जनकपुरसम्म चल्ने रेल त्यसको केही महिनामा बर्दिबाससम्म ल्याउने लक्ष्य राखिएको छ ।
भारतीय प्रतिबद्धतानुसार जनकपुर–जयनगर ब्रोडगेज रेलमार्गको पहिलो चरणको काम सम्पन्न भएपछि लगभग ५ वर्षदेखि बन्द रहेको रेलसेवा फेरि सञ्चालन हुनेछ । निर्माणका लागि ठेक्का लिएको रमण कन्सट्रक्सनको ढिलाइका कारण लक्षित मितिमा रेल नचल्ने हो कि भन्ने शंकासमेत गरिएको छ ।
रेलवे सेवा सञ्चालनका लागि ६९ किलोमिटरमध्ये ५२ किलोमिटरसम्मको मार्गमा माटो पुर्ने, ब्लैंकेटिङ (बालुवा, माटो, गिट्टी) भर्ने काम पूरा भइसकेको छ । रेलमार्गका लागि ब्लास्ट (कालो ढुंगा) बिछ्याउने कार्यसमेत अन्तिम चरणमा रहेको बताइएको छ । जयनगरदेखि जनकपुर रेल सञ्चालनका लागि ११२ वटा पुल तथा कल्भर्ट, आठवटा स्टेसन र पाँचवटा हल्ट निर्माण गरिँदै छ । जयनगरदेखि भंगहासम्ममा अहिले पनि पाँचवटा पुल तथा कल्भर्टहरूको निर्माण पूरा गर्न बाँकी नै रहेको छ ।

ब्लास्ट बिछ्याउनका लागि भारतको पाखौर, सीतामढी र पुपरीबाट ल्याइँदै छ । रेलमार्ग सेवाका लागि नेपालको इनरुवा, महोत्तरीको भंगहासम्मको १३८ बिघा जग्गा अधिग्रहण गरिएको छ भने भंगहादेखि बर्दिबाससम्मको जग्गा अधिग्रहण गर्न बाँकी रहेको रेल विभाग जनकपुरका अधिकारीहरूले जनाएका छन् ।
अधिग्रहण गरिएका जग्गाका लागि ३३ करोड मुआब्जा वितरण भएको छ । धनुषा र महोत्तरी गरी ९० प्रतिशत मुआब्जा वितरण सम्पन्न भइसकेको छ ।

भारत सरकारको अनुदान सहयोगमा निर्माण भइरहेको ६९ किलोमिटरको जनकपुर जयनगर बर्दिबास रेलमार्गको कार्य ३ चरणमा भइरहेको छ । पहिलो चरणअन्तर्गत जनकपुर वडा नं २१ कुर्थासम्म ३५ किलोमिटरसम्मको कार्य पूरा हुने रेल विभाग साइट कार्यालय जनकपुरधामका प्रमुख विनोद ओझाले जानकारी दिए । ओझाका अनुसार दोस्रो चरणमा कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटरसम्म सम्पन्न गरिनेछ भने तेस्रो तथा अन्तिम चरणअन्तर्गत भंगहादेखि बर्दिबाससम्मको १७ किलोमिटरको रेलमार्ग निर्माणको कार्य सम्पन्न गरिनेछ ।
पहिलो चरणको रेलसेवा सञ्चालनमा आएको ६ महिनापछि कुर्थादेखि भंगहासम्म रेल चल्ने भएको छ । त्यसैगरी, कुर्थासम्मको लिक बिछ्याउने कार्य १० देखि १५ दिनभित्रमा पूरा हुने ओझाले बताए ।

विदेह–९ का किशोर मण्डल रेल आउने भएपछि दंग छन् । उनले भने, ‘बर्खायाम सुरु हुनेबित्तिकै सामान्य किनमेलदेखि बिरामीको उपचारका लागि पनि सास्ती खेप्दै आएका थियौं तर अब त्यस्ता समस्याबाट छुट्कार मिल्नेछ ।’
रेल सेवाले प्रदेश दुई आर्थिक विकासमा फड्को मार्ने जनकपुर उपमहानगरपालिका वडा नं १७ की अनामिका मण्डलले बताइन् । जनकपुर–जयनगर रेलसेवा बन्द हुँदा दैनिक सयौं यात्री ओहोरदोहोर गर्ने बाटो नै बन्द भएपछि धनुषाको देउरी, परवाहा, दुहबी, गोबराहीलगायतका स्थानीयले सबैभन्दा बढी समस्या भोग्दै आएका थिए ।यो खबर आजको राजधानीबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *