तत्काल स्ववियु चुनाव नगराऊ : देउवा

Sharing is caring!

माघ १५, २०७५ । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको कार्यशैलीको विरोधमा आफ्नो पार्टी आन्दोलनमा रहेकाले फागुनमा निर्धारित स्ववियु निर्वाचन नगराउन प्रधानमन्त्री केपी ओली र त्रिभुवन विश्वविद्यालयका अधिकारीलाई आग्रह गरेका छन् ।

त्रिवि पदाधिकारीले स्ववियु चुनावका विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ प्रधानमन्त्री ओली, प्रमुख प्रतिपक्षी देउवा, विद्यार्थी संगठनका प्रमुखसित छलफल गरेका थिए । छलफलमा देउवाले आफ्नो पार्टी लोकतन्त्र र चुनावविरोधी नभए पनि सरकारको कार्यशैलीको विरोधमा आन्दोलनमा रहेकाले तत्काल निर्वाचन नगराउन आग्रह गरेको जानकारी स्रोतले दियो ।

छलफलपछि त्रिवि पदाधिकारीले भने निर्धारित मितिमै निर्वाचन हुने बताएका छन् । त्रिविले फागुन १४ गतेभित्र स्ववियु निर्वाचन गर्न सबै क्याम्पसमा परिपत्र गरिसकेको छ । त्रिविकी रेक्टर सुधा त्रिपाठीले विश्वविद्यालयका तर्फबाट स्ववियु निर्वाचनसम्बन्धी प्रस्ताव र प्रगति विवरण पेस गरेपछि आएको प्रतिक्रियाप्रति सहमति जनाउन नसकेको बताइन् । ‘विश्वविद्यालयले पूर्वनिर्धारित क्यालेन्डरअनुसार ६ महिनादेखि स्ववियु चुनावको तयारी गरेको छ,’ उनले भनिन्, ‘हामीले फागुन १४ देखि बढीमा एक साता लम्ब्याउन सक्छौं । नत्र अर्को साल मात्र हुनेछ भनेका छौं ।’

सत्तारूढ दलनिकट विद्यार्थी संगठनले तोकिएकै मितिमा स्ववियु चुनाव हुनुपर्ने अडान राखेका छन् । नेविसंघका अध्यक्ष नैनसिंह महरले सरकारले आन्दोलनमा उत्रिएका विद्यार्थी नेतालाई धरपकड र घाइते तुल्याइएकाले स्ववियु चुनावको वातावरण बिथोलिएको आरोप लगाए । ‘हामी स्ववियु चुनावमा होमिन तत्पर छौं तर पार्टीले घोषणा गरेको सडक आन्दोलनमा सहभागी संघका साथीहरूलाई एकपछि अर्को घाइते पारिएकाले विश्वस्त हुने स्थिति छैन,’ उनले भने ।यो खबर कान्तिपुरबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *