‘हेलो सरकार’ आजदेखि २४ सै घण्टा

Sharing is caring!

भदौ १७, २०८० । आम नागरिकका गुनासो सुन्ने सरकारी संयन्त्र ‘हेलो सरकार’ आजदेखि २४ सैं घण्टा संचालनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको “हेलो सरकार”को सेवालाई तीन सिफ्टमा सञ्चालन हुने गरी विस्तारको घोषणा गरेका हुन् ।

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा रहेको हेलो सरकार कक्षको निरीक्षण र अनुगमनसहित प्रधानमन्त्रीले जनताका समस्या सम्बोधन गर्ने गरी तीन सिफ्टको कार्यक्रम शुभारम्भ भएको घोषणा गरेका हुन् ।

उनले भने, जनताका गुनासो जति गम्भीरतापूर्वक सम्बोधन हुन्छ, लोकतन्त्र त्यति नै बलियो हुन्छ । त्यसै प्रयोजनका निम्ति १२ वर्षअघि यो कार्यक्रमको शुभारम्भ गरिएको थियो। यसले गणतन्त्रमा जनमत र जनभावनाको सम्मान गर्ने परिस्थिति निर्माण भएको छ। जनताको गुनासो सुनिएन भन्ने मत पनि छ । यसलाई ३ सिफ्टको कार्यक्रमले पूर्णतः सम्बोधन गर्ने विश्वास लिएको छु । मैले हेलो सरकारको निरीक्षण गरेँ। कार्यकक्ष हेरे । त्यहाँ आएको गुनासोमध्ये दोलखाको एउटा गुनासो सुनेँ र त्यसलाई सम्बोधन गर्ने निर्देशनसमेत दिइसकेको छु ।

शुभारम्भ समारोहमा नेपाल सरकारका मुख्यसचिव, सचिवहरू, विभागीय प्रमुखहरू, मन्त्रालय तथा केन्द्रीय निकायका गुनासो सुन्ने अधिकृतहरू, हेलो सरकार कक्षमा कार्यरत कर्मचारीहरू सहभागी थिए ।

यसअघि नेपाल टेलिकमबाट मात्र सेवा प्रवाह हुने गरेकोमा बिस्तारित गरिएको कार्यक्रममा आजबाट एनसेल मोबाइलबाट समेत गुनासो राख्न सकिनेछ । गुनासोहरू फोन, इमेल, फेसबुक, ट्वीटर, पोर्टल, भाइबर, ह्वाट्स्एप लगायतका डिजिटल माध्यमबाट टिपाउन सकिनेछ ।

हेलो सरकारको डेस्कबाट प्राप्त गुनासोहरू तत्काल सम्बोधन गरी सोको जानकारी सम्बन्धित निवेदकलाई दिने व्यवस्था मिलाइएको छ । हेलो सरकार २४ सै घण्टा सञ्चालनका लागि तीन सिफ्टको कार्यतालिका निर्माण गरी सोहीअनुरूप कर्मचारी व्यवस्थापनसमेत गरिएको छ । त्यसका लागि नेपाल सरकारका ३ जना उपसचिवसहित २५ जना कर्मचारीहरू खटाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *