सोमबारदेखि अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा चल्ने

Sharing is caring!

जेठ ६, २०७५ । यात्रुलाई सहजरुपमा सेवा दिने लक्ष्यका साथ सरकारले सोमबारदेखि मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा ल्याउने भएको छ ।

यसअघि सरकारले २४सै घण्टा विमानस्थल सञ्चालन गर्ने बताए पनि साधन र स्रोतको व्यवस्थापन, जनशक्ति आदि कारणले तीन घण्टा कम अर्थात् २१ घण्टामात्रै सञ्चालन गर्न लागिएको हो ।

विमानस्थलमा बढ्दो यात्रुको चापलाई व्यवस्थापन गर्न र अन्तर्राष्ट्रिय उडानलाई थप प्रभावकारी बनाउन सञ्चालनमा नयाँ पन दिन लागिएको हो ।

एउटामात्रै विमानस्थल हुँदा सामान्य दुर्घटना हुँदा समस्या आउने, लामो समयसम्म जहाज आकाशमा नै होल्ड गर्नुपर्नेजस्ता जटिलताका कारण पनि सरकारले दिन, रात दुवै समयमा विमानस्थल सञ्चालनमा ल्याउन लागेको हो ।

हवाई ट्राफिक व्यवस्थापन तथा उडान र अवतरणमा देखिएका समस्या समाधानका लागि पनि सञ्चालन अवधि बढाइएको हो ।

हाल विमानस्थल बिहान ६ देखि राति १२ बजेसम्म जम्मा १८ घण्टा सञ्चालन भइरहेको छ । सञ्चालन अवधि २१ घण्टा पु¥याउँदा त्यो समय बिहान ६ देखि भोलिपल्ट बिहान ३ बजेसम्मको हुनेछ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले विमानस्थलको हवाई ट्राफिक चाप नियन्त्रण गर्ने उद्देश्यले सञ्चालन अवधि लम्ब्याउन निर्देशन दिनुभएको थियो ।

मन्त्री अधिकारीको १०० दिने कार्ययोजनाको उच्च प्राथमिकता परेको यो कार्यलाई सफल तुल्याउन सरोकार भएका निकाय तथा विज्ञसँग मन्त्री अधिकारीले पटक–पटक छलफल गरिसक्नुभएको छ ।

विमानस्थल २१ घण्टा सञ्चालनको आवश्यक तयारीबारे नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का उच्च पदाधिकारी, विमानस्थल व्यवस्थापन तथा प्राविधिकलगायत क्षेत्रमा काम गर्ने सबै निकायका कर्मचारीसँग आज अन्तक्र्रिया गरी मन्त्री अधिकारीले विमानस्थललाई चुस्तदुरुस्त बनाउन यसअघि नै आग्रह गरिसक्नुभएको छ ।

विमानस्थलको पूर्वाधार तथा जनशक्ति व्यवस्थापनका लागि सबै किसिमको तयारी गरिएको छ । त्यसका लागि अध्यागमन, सुरक्षाकर्मी, ग्राउण्ड ह्यान्डलिङलगायतमा समेत थप जनशक्ति व्यवस्थापन तथा सेवा सुविधासमेत बढोत्तरी गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम विमानस्थल सञ्चालनको अवधि थपिएको र त्यसका लागि प्राधिकरणका तर्फबाट आवश्यक तयारी सम्पन्न भएको बताउनुहुन्छ ।

सुरक्षा निकायलगायत विमानस्थलका साझेदार सबै निकायसँग समन्वय गरी सेवालाई चुस्त र प्रभावकारी बनाउने तथा भविष्यमा आवश्यक पर्ने जनशक्ति व्यवस्थापनको सबै तयारी सकिएको प्राधिकरणले जनाएको छ ।

हाल विमानस्थलमा ६७ एटिसीले छुट्टाछुट्टै कार्य समयमा काम गर्छन् । विमानस्थल सञ्चालन २१ घण्टा पु¥याउँदा ८५ देखि ९० एटिसी आवश्यक पर्छ । प्राधिकरणसँग हाल २५० एटिसी छन् ।

विमानस्थलबाट अहिले आन्तरिक र अन्तर्राष्ट्रिय गरी दैनिक करीब ४०० उडान अवतरण हुने गरेको छ । जसमा आन्तरिकतर्फ हेलिकप्टरसहित करीब ३५० र अन्तर्राष्ट्रियतर्फ दुई नेपालीसहित ३० वटा वायु सेवा प्रदायकले दैनिक १०० भन्दाबढी उडान भर्दै आएका छन् ।

दैनिक एक हजार ३०० यात्रु व्यवस्थापनको क्षमता भएको अन्तर्राष्ट्रिय विमानस्थलमा हाल बढी व्यस्त समयमा दुई हजार ५०० भन्दा बढी यात्रु व्यवस्थापन गर्नुपर्ने बाध्यता छ । विमानस्थलमा सरकारी एवं निजी कम्पनीसहित करीब ८० निकाय सक्रिय छन् । सन् १९५० देखि उडान तथा अवतरण शुरु गरेको विमानस्थललाई सन् १९६४ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ नामाकरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *