सुन प्रकरण : उच्च अदालतकै आदेश सदर

Sharing is caring!

साउन १८, २०७६ । सर्वोच्च अदालतले सनम शाक्य हत्या प्रकरण तथा सङ्गठित सुन तस्करी अभियोगमा उच्च अदालत विराटनगरले गरेको आदेश सदर गरेको छ । थुनामा रहेका एक जना अभियुक्तलाई धरौटीमा रिहाबाहेक अन्य उच्च अदालतकै आदेश सदर भएको छ । उच्च अदालतले थुनामा पठाएका महावीर गोल्यानलाई भने सर्वोच्चले धरौटीमा रिहा गर्न आदेश दिएको छ । गोल्यानलाई सर्वोच्चले १० लाख रुपियाँ धरौटीमा रिहा गर्न आदेश गरेको हो ।

न्यायाधीशद्वय अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको संयुक्त इजलासले उच्च अदालतले गरेको आदेश सदर गरेको हो । यो आदेश अभियुक्तले मुद्दाको पुर्पक्ष थुनामा, धरौटी वा साधारण तारेखमा रहेर गर्नेसम्म सीमित छ । सुन प्रकरणको मुद्दा भने जिल्ला अदालतमा नै विचाराधीन छ ।

थुनछेक आदेश प्रकरणमा उच्च अदालत विराटनगरका आठ जना न्यायाधीशमाथि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अध्यक्ष रहेको न्याय परिषद्ले पाँच महिनाभन्दा लामो समय छानबिन गरेको थियो । परिषद्ले छानबिनपछि न्यायाधीश बदनियतपूर्वक कार्यसम्पादन गरेको आरोपमा न्यायाधीश उमेश सिंहलाई सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको थियो । सोही प्रकरणको आदेशको विषयलाई लिएर न्यायाधीशद्वय थीरबहादुर कार्की र साधुराम सापकोटालाई दुई वर्ष बढुवा रोक्का गरेको थियो ।

न्यायाधीशलाई सेवाबाट अवकाश र बढुवा रोक्का गरिए पनि सर्वोच्चले आदेश भने उच्च अदालतकै सदर गरेको हो । उच्च अदालतभन्दा सर्वोच्चको आदेशमा फरक अभियुक्त महावीर गोल्यानको हकमा मात्र छ । गोल्यानलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाएको थियो । सो आदेशउपरको निवेदनमा उच्च अदालतले पनि जिल्लाकै आदेश सदर गरेको थियो । सर्वोच्चले गोल्यानलाई १० लाख रुपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । गोल्यानले अब मुद्दाको बाँकी प्रक्रिया धरौटीमा रहेर अगाडि बढाउन सक्नुहुनेछ ।  यो खबर आजको गोरखापत्रमा नारायण काफ्लेले लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *