सुधार गृह नै असुरक्षित

Sharing is caring!

भदौ ५, २०८० । सानोठिमीस्थित बाल सुधार गृहबाट २२१ कैदीबन्दीहरु भागेपछि नेपालको सुधार गृहको सुरक्षामाथि नै प्रश्न उठेको छ । आइतबार र सोमबार भएको झडप र तनावबीच बाल सुधार गृहमा रहेका २९९ बालबन्दीमध्ये सुधार गृहको गेट तोडफोड गरेर दुई सय २१ जना फरार भएका थिए ।

जिल्ला प्रहरी परिसर, भक्तपुरका एसपी प्रजित केसीका अनुसार सानोठिमीस्थित सुधार गृहबाट भागेकामध्ये १९८ जना सोमबार साँझसम्म नियन्त्रणमा आइसकेका छन् । थप २३ जनाको खोजी भइरहेको छ । उनीहरुको खोजीका लागि काठमाडौं, भक्तपुर र ललितपुरमा प्रहरी परिचालन गरिएको छ ।

सोमबार दिउँसो सुधार गृहको पछाडि पट्टीको ढोका फोडिँदा कैदीबन्दी फरार भएका थिए । प्रहरीका अनुसार, त्यसक्रममा १९ जना सुरक्षाकर्मी घाइते भएका छन् । बन्दीतर्फ चार जना घाइते भएका छन् । तीमध्ये दुई जनालाई गोली लागेको छ । गोली लागेकामध्ये गम्भीर घाइतेको वीर अस्पताल ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

रामेछापको मन्थली नगरपालिका–३, कठजोरका २१ वर्षीय कमल बस्नेतको मृत्यु रहस्यमय भएको भन्दै आफन्तले बाल सुधार गृह अगाडि आइतबार नाराबाजी र तोडफोड गरेका थिए । त्यही विषयमा सोमबार पनि तनाव जारी रहँदा सुधार गृहमा रहेका कैदीबन्दी फरार भएका थिए ।

बालबन्दीका आफन्तहरुले परिसरमा उपस्थित भएर सुधार गृह नै असुरिक्षत रहेको भनी प्रश्न उठाएका छन् । यसअघि मकवानपुरको हेटौंडमा रहेको सुधार गृहमा रहेका एक १८ वर्षीय युवकको मृत्यु पनि भएको थियो । सुधार गृहमा रहेकाको मृत्यु हुन थालेको भन्दै आफन्तहरुले प्रश्न उठाएका हुन् ।

प्रहरीका अनुसार आइतबारको घटनाले नै सोमबार तोडफोडको रुप लिएको हो । जिल्ला प्रहरी कार्यालय रामेछापबाट २०७७ जेठ २९ गते १८ वर्षको उमेरमा जबरजस्ती करणी अभियोगमा सजाय भुक्तान गर्न बाल सुधार गृह सानोठिमीमा ल्याइएको रामेछापको मन्थली नगरपालिका–३, कठजोरका कमल बस्नेतको आइतबार बिहान मृत्यु भएपछि बाल सुधार गृह तनावग्रस्त बनेको थियो । शनिबारदेखिनै ज्वरो आएपछि परिवारलाई खबर गरेको र राति सिटामोल खाएर सुते पनि बिहान बेहोस पाइएपछि नागरिक अस्पतालमा उपचारका लागि लैजाँदा अस्पतालले मृत्यु भएको जानकारी गराएको थियो ।

बस्नेतको मृत्युपछि सुधार गृहमा रहेका पुरुष थुनुवाले भित्रैबाट र मृतकका आफन्तले बाहिरबाट नाराबाजी गर्दै भित्रै पसेपछि आइतबार सुधार गृहको स्थिति तनावग्रस्त भएको थियो । मृतकका अफन्तले घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए ।

मृतकको बाँया खुट्टाको तिघ्रामा पिलो आएको र पहिलादेखिनै आँखामा समस्या रहेको र ज्वरो आएको प्रहरीको भनाइ थियो । सुधार गृहले परिवारलाई मृत्यु भएको खबर दिए पनि मृत्युको कारण प्रष्टसँग जानकारी नगराएको र मृत्यु रहस्यमय भएको भन्दै आफन्तले घटनाबारे बुझ्न खोज्दा उल्टै प्रहरी बृत्त थिमिको प्रहरी निरीक्षकले टोलीले पीडित पक्षमाथि दुव्र्यवहार गरेको आफन्तले आरोप लगाएका थिए । उनीहरुले समयमै उपचार नपाउँदा ज्यान गएको भन्दै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र क्षतिपूर्ति दिनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए ।

सोमबार दिउँसको मृतकका आफन्त फेरी सुधार गृह गएर नाराबाजी गरेपछि अवस्था नियन्त्रण बाहिर गएको प्रहरीको भनाइ छ ।

‘सुधार गृहबाट बाहिर निस्कने क्रममा बन्दीले लाठी, भाला, खुकुरी, चक्कु लगायतका घरेलु हतियार लिएर प्रहरीमाथि आक्रमण गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको’ भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

देशभर बाल बन्दीको संख्या ७६४

बालबालिका सम्बन्धी राष्ट्रिय स्थिति प्रतिवेदन २०७९ अनुसार नेपालमा ७६४ जना बाल सुधार गृहमा छन् । प्रतिवेदन अनुसार २०७८ साल असारसम्म आठ वटा बाल सुधार गृहहरुमा जम्मा ८८७ जना थिए भने २०७९ साल असारसम्म १८ वर्षमुनिका यस्ता बालबालिकाको संख्या ७६४ जना ९बालक ७३३ र बालिका ३१० रहेका छन् ।

प्रतिवेदन अनुसार सबैभन्दा बढी बाँकेमा १८४ जना बालबालिका छन् भने सबभन्दा कम २९ जना डोटीमा रहेको छ । अधिकांश बाल सुधार गृहमा पर्याप्त भौतिक सुविधा नभएको तथा क्षमता भन्दा बढी बालबालिका राखिएको प्रतिवेदनको निष्कर्ष छ । बाल सुधार गृहहरुलाई बालमैत्री बनाउने कार्यमा संघीय, प्रदेश र स्थानीय सरकारको गम्भीर ध्यानाकर्षण हुन नसक्दा क्षमताभन्दा बढी बन्दी रहेका छन् । यो खबर मध्यान्ह दैनिकबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *