संविधान दिवस: ३ वर्षपछि वीरगन्जमा फेरियो दृश्य

Sharing is caring!

असोज ४, २०७५ । ३ असोज ०७२ मा मुलुकमा संविधान जारी भइरहँदा मधेस आन्दोलन उत्कर्षमा थियो । वीरगन्जमा पनि मधेसवादी दलका नेता–कार्यकर्ताले संविधान जलाए, ब्ल्याक आउट गरे । तर, संविधान जारी भएको ३ वर्षपछिको ३ असोजमा भने वीरगन्जवासीले संविधानको विरोधमा प्रतिक्रिया जनाएनन् । राजपा समर्थकले केन्द्रीय निर्देशनअनुसार कालोदिनका रूपमा लिए भने फोरम समर्थक मौन देखिए ।
ठाकुर भन्छन्– आत्मसमर्पण गरेका छैनौँ
कालोदिन मनाउनेक्रममा राजपाले सभागृहमा संविधानमा जनताका अवधारणाबारे बहस आयोजना गरेको थियो । कार्यक्रममा प्रमुखअतिथि थिए, राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर । सोही संविधानअनुसार सांसदको शपथ लिएका तथा ज्येष्ठ सदस्यका रूपमा अरू सांसदलाईसमेत शपथ गराएका ठाकुरले विगतमा जस्तो संविधान च्यात्ने कुरा गरेनन् । बरु, संविधानमा विभेद रहेकाले पूर्ण रूपमा स्विकार्न नसकिएको बताए ।

उनले केन्द्रीय सरकारलाई आफ्नो पार्टीले समर्थन गरेको भए पनि आफूहरूले आत्मसमर्पण नगरेको दाबी पनि गरे । त्यसअघि मधेस आन्दोलनका घाइते ललन पटेलले मधेसको मुद्दा मधेसवादी नेतृत्वका कारण अपूरो रहेको गुनासो गरेका थिए । ‘कहिले आन्दोलन, फेरि एकैछिनमा सरकारलाई समर्थन । बुझ्नै सकिएन,’ पार्टी नेतृत्वप्रति असन्तोष व्यक्त गर्दै उनले भने, ‘सहादत पाउने तथा घाइते हुनेहरूलाई बेवास्ता गरी चुनावमा पैसावाललाई टिकट बाँडियो ।’

सांसद भन्छन्– धर्मसंकटमा छौँ
वीरगन्जमा आन्दोलनको कमान्डर रहेका संघीय समाजवादी फोरमका सांसद प्रदीप यादवले आफूहरू धर्मसंकटमा परेको बताए । ‘जुन संविधानलाई टेकेर शपथ लिइयो, त्यसैका विरुद्ध ब्लयाक आउट कसरी गर्ने ?’ द्विविधाग्रस्त अवस्थाको चित्रण गर्दै उनले भने, ‘संविधानमा अहिले पनि मधेसका मुद्दा समेटिएका छैनन् । त्यसैले सहर्ष स्विकार्न पनि अप्ठ्यारो भएको छ ।’

सिंहदरबारसँग संघर्ष जारी रहोस्
अधिकांश वक्ताले संविधानमा मधेसका असन्तुष्टि नसमेटिएको भन्दै चिन्ता व्यक्त गरेका थिए । मधेस मामिलाका जानकार राजनीतिक विश्लेषक सिके लालले संविधान पुनर्लेखन गर्नुपर्ने बताए । ‘सुशील कोइरालालाई इतिहासमा नाम लेख्न, केपी ओलीलाई प्रधानमन्त्री बन्न र प्रचण्डलाई जेल जानबाट जोगिनुपर्ने थियो, त्यसैले फास्ट ट्राकबाट संविधान जारी भयो,’ सिके लालले भने । लेखक खगेन्द्र संग्रौलाले संविधानले मधेसलाई सन्तुष्ट नगरेसम्म सिंहदरबारसँग संघर्ष जारी राख्नुपर्ने सुझाब दिए । यो खबर आजको नयाँ पत्रिकामा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *