वीरगन्जबाट एक महिना मै साढे १२ अर्ब संकलन

Sharing is caring!

भदौ ४, २०७५ । गत वर्ष लक्ष्य पूरा गर्न नसकेको वीरगन्ज-आईसिपी भन्सार कार्यालयले चालू आर्थिक वर्षको पहिलो महिनामै लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । वीरगन्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको पहिलो महिनामा १२ अर्ब ६१ करोड ८७ लाख ९१ हजार रुपैयाँ राजस्व संकलन गरेको कार्यालयका सूचना अधिकारी सन्तोष यादवले जानकारी दिए ।
गत आर्थिक वर्ष २०७४-७५ मा वीरगन्ज भन्सार कार्यालयले पहिलो महिनामा ८ अर्ब ७२ करोड ३१ लाख ८ हजार राजस्व संकलन गरेको थियो । यो कुल राजस्वको ९२.७३ प्रतिशत हो । भन्सार विभागले गत आर्थिक वर्षमा ९ अर्ब ४० करोड ७४ लाख ७० हजार रुपैयाँ संकलन गर्ने लक्ष्य दिएको थियो । चालू आर्थिक वर्षमा १२ अर्ब १ करोड २४ लाख ९ हजार रुपैयाँ लक्ष्य दिएको थियो । चालू आर्थिक वर्षमा वीरगन्ज-आईसिपी भन्सार कार्यालयले १०५.०५ प्रतिशतले राजस्व संकलन गरेको छ ।
अघिल्लो आर्थिक वर्षको सोही महिनाको तुलनामा चालू आर्थिक वर्षको राजस्व संकलन ४४.६६ प्रतिशतले वृद्धि भएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकार यादवले बताए । राजस्व मध्ये ४ अर्ब २६ करोड ३४ लाख ४४ हजार भन्सार महशुलबाट संकलन भएको छ । त्यस्तै मूल्य अभिवृद्धि करतर्फ ५ अर्ब ३६ करोड ६६ लाख १७ हजार संकलन गरेको छ । अन्तःशुल्कमा वीरगन्ज भन्सार कार्यालयले २ अर्ब २५ करोड ७० लाख ४६ हजार संकलन गरेको छ । पूर्वाधार करतर्फ २२ करोड ९२ लाख २४ हजार रुपैयाँ संकलन भएको छ । चालू आर्थिक वर्षको पहिलो महिनामै सवारी साधन तथा पेट्रोलियम पदार्थ नै बढी आयात भएकाले राजस्व संकलनमा पनि वृद्धि भएको सूचना अधिकारी यादवले बताए ।यो खबर आजको कारोबारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *