विद्यालयमा नर्स अनिवार्य, प्राथमिकमा स्टाफ नर्स, माध्यमिकमा बीएन

Sharing is caring!

मंसिर २५, २०७५ । सरकारले देशभरका निजीसहित सबै विद्यालयमा नर्सको दरबन्दी अनिवार्य गर्दै पदपूर्ति प्रक्रिया अघि बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा देशभरका सामुदायिकसँगै निजी विद्यालयमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम अघि सारिएको हो । मन्त्रालयले नियुक्ति प्रक्रिया अघि बढाइसक्दासमेत आवश्यक बजेटको भने व्यवस्था गरिएको छैन ।
निजीले आफ्नै तथा सामुदायिकले सरकारी स्रोतमा नर्स नियुक्ति गर्ने प्रावधान राखिए पनि बजेट भने विनियोजन भएको छैन ।
यसै वर्षबाट प्रदेश ३ का केही जिल्लामा कार्यक्रम लागू भइसकेको छ । तर, सरकारले भने आगामी आर्थिक वर्षमा मात्र विद्यालयमा नर्सका लागि बजेट विनियोजन गर्ने स्वास्थ्य सेवा विभागअन्तर्गत नर्सिङ तथा सुरक्षा महाशाखा प्रमुख रोशनी तुइतुईले बताइन् ।
दरबन्दी प्रक्रिया अघि बढाइसकेको प्रदेश ३ ले भने एक विद्यालय एक नर्स अभियानका लागि बजेट छुट्याइसकेको छ ।
पहिलो चरणमा प्रदेश ३ का २० वटा विद्यालयमा यो कार्यक्रम लागू भएको नर्सिङ तथा सुरक्षा महाशाखा प्रमुख तुइतुईले बताइन् । उनले प्रदेश सरकारले आफ्नै सक्रियतामा विद्यालयमा नर्स राखेको भन्दै आगामी वर्षदेखि अन्य प्रदेशले पनि विद्यालयमा अनिवाई नर्स राख्ने बताइन् ।

सिन्धुपाल्चोक चौतारास्थित कृष्णरत्न मावि, भीमटारस्थित भीमेश्वर मावि, सिन्धुलीस्थित जनज्योति मावि, रसुवास्थित कालिका हिमालयन मावि, रामेछापस्थित मन्थली मावि, नुवाकोटस्थित बिन्दुकेशर, तुक्सार मेघान र त्रिभुवन मावि त्रिशूलीमा नर्स कार्यरत छन् ।
यसैगरी, काभ्रेपलाञ्चोकको पार्वती मावि ढुंखर्क, मकवानपुरको महेन्द्र मावि तथा आधुनिक मावि, ललितपुरको आदर्शसोल, त्रिपद्म विद्याश्रम, काठमाडौंस्थित जनसेवा मावि, पद्यमकन्या मावि, दोलखास्थित हनुमन्तेश्वर मावि, चितवनस्थित नारायणी मावि, दुर्गाशेषकान्त अधिकारी मावि, धादिङस्थित नीलकण्ठ मावि, बेनिघाट मावि र भक्तपुरको बागेश्वरी माविले यसै वर्षबाट नर्स दरबन्दी पाउँदै छन् ।

कार्यक्रम स्थानीय तहसँगको सहकार्यमा सुरु गर्न लागिएको हो । आगामी शैक्षिक सत्रदेखि स्थानीय तहमा नै बजेट छुट्याउन लगाई स्थानीय तहमार्फत कार्यक्रम सञ्चालन गर्ने योजना रहेको स्वास्थ्य सेवा विभागअन्तर्गत नर्सिङ तथा सुरक्षा महाशाखा प्रमुख रोशनी तुइतुईले बताइन् ।
देशभर ३४ हजार बढी विद्यालय छन् भने नर्सिङ काउन्सिलका अनुसार देशभर ८५ हजार नर्स छन् । हाल प्राथमिक तहमा स्टाफ नर्स र प्लस टु तहसम्म बीएन (स्नातक उत्तीर्ण) लाई काममा लगाइएको नेपाल नर्सिङ एसोसिएसनकी अध्यक्ष तारा पोख्रेलले बताइन् ।

विद्यार्थीहरूलाई स्वस्थ र फुर्तिलो राख्न विद्यालयमा नर्स राख्ने योजना थालिएको हो । उनीहरूले बालबालिकाको स्वास्थ्य अवस्थाबारे जाँचबुझ, स्वस्थ्य रहन गरिने कार्यबारे जानकारी दिने, व्यावहारिक प्रयोगबारे सिकाउने, विद्यालयमा जंकफुड प्रयोग निषेध गर्ने, घर तथा विद्यालयमा कसरी स्वस्थ्य खानेकुरा बनाइन्छ भन्ने बारे विद्यार्थीलाई सिकाउनेछन् ।
तत्कालीन स्वास्थ्य मन्त्रालय, प्याब्सन र एनप्याब्सनको सक्रियतामा २०७३ सालमा प्रत्येक विद्यालयमा नर्स राख्ने सैद्धान्तिक सहमति भएको थियो । नर्सलाई स्वास्थ्य कि शिक्षा विषयअन्तर्गत नियुक्ति गर्ने भन्नेमा विवाद भए पनि हाल शिक्षाअन्तर्गत राखिएको छ ।यो खबर राजधानीबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *