लगानी बोर्डले चार जलविद्युत परियोजनका लागि ३६ अर्ब ३७ करोड लगानी स्वीकृत गर्‍यो

Sharing is caring!

भदौ ८, २०८० । प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा लगानी बोर्डको ५५औं बैठक सम्पन्न भएको छ । आजको बैठकले चारवटा जलविद्युत् परियोजनाहरू (रोल्वालिङ खोला, छुजुङ्ग खोला, दाना खोला र सानीभेरी जलविद्युत् परियोजना) का लागि कुल ३६ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ ।

लगानी बोर्डको कार्यालयमा सम्पन्न बैठकले तमोर जलाशययुक्त जलविद्युत परियोजना कार्यान्वयन अघि बढाउने सम्बन्धमा हालसम्मको विकासक्रमको समीक्षा गर्दै परियोजनाको भावी कार्यदिशासम्बन्धी सुझाव पेश गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ ।

त्यस्तै, दाङ जिल्लाको राजपुर गाउँपालिकामा २४५ मेगावाट र २० मेगावाट ब्याट्री क्षमताको सौर्य ऊर्जा परियोजनाको अध्ययनका लागि Dolma Himalayan Energy लाई अध्ययन अनुमतिपत्र दिने निर्णय गरेको छ। साथै, बाँकेको कोहलपुर र कपिलवस्तुको वाणगंगामा २५० मेगावाटको सौर्य ऊर्जा विकासका लागि Risen Energy Co. Ltd. बाट पेस भएको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनलाई बोर्डले जानकारीमा लिएको छ ।

बोर्डले माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको सम्बन्धमा सम्मानित सर्वोच्च अदालतबाट जारी भएको निर्देशनात्मक आदेश कार्यान्वयनका लागि मन्त्रिपरिषद् समक्ष प्रस्ताव पेश गर्ने निर्णय गरेको छ ।

यसका अतिरिक्त बोर्डको बैठकले ग्रिन Green Calcium Ammonium Nitrate -CAN_ Fertilizer Factory स्थापना सम्बन्धमा अध्ययनका लागि मलेसियास्थित reNIKOLA Sdn. Bhd. सँग गरिने समझदारीको मस्यौदा स्वीकृत गरेको छ ।

बैठकमा विभिन्न परियोजनाहरूको सम्बन्धमा गहन छलफल भई महत्वपूर्ण निर्णय भएको विचार व्यक्त गर्दै प्रधानमन्त्रीले आगामी दिनमा जलविद्युत् परियोजनाहरूको परियोजना लागत निर्धारण गर्दा ब्यांकेबल हुने गरी थप अध्ययन-विश्लेषण गर्न, कार्यान्वयनमा रहेका परियोजना समयमा सम्पन्न गर्न आवश्यक समन्वय प्रगाढ बनाउन र लगानी स्वीकृति र परियोजना कार्यान्वयनमा रहेका प्रक्रियाहरूलाई छोट्याउँदै छिटोछरितो र परिणाममुखी कार्यसम्पादन गर्न सम्बन्धित सबै निकायहरूलाई निर्देशन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *