राहतको कार्यक्रमसहित प्रदेश २ मा आउँछु : प्रम

Sharing is caring!

साउन १८, २०७६ । प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँले प्रदेश २ मा बाढी र डुबानले पुरयाएको क्षतिबारे अवलोकन गर्न राहतको कार्यक्रमसहित जाने बताउनुभएको छ ।

उहाँले बाढी र डुबानको दीर्घकालीन समाधानका लागि समुदायलाई परिचालन गर्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले प्राकृतिक विपत्तिबाट पीडितको उचित व्यवस्थापनका लागि सरकार गम्भीर प्रयासमा रहेको समेत बताउनुभयो ।

सङ्घीय संसद्मा प्रदेश २ बाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग शुक्रबार बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “बाढीपीडितको व्यवस्थापनमा तत्कालीनभन्दा पनि दीर्घकालीन समाधानका लागि सरकार प्रयत्नशील छ । ” उहाँले बाढी र डुबानका कारण हुने जनधनको क्षति न्यूनीकरणका लागि पूर्वतयारी र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनुपर्नेमा जोड दिनुभयो ।

नेपाल कम्युनिस्ट पार्टी प्रदेश कमिटीको पहलमा भएको सो छलफलमा बाढी, डुबान, राहत वितरणमा भएका कमजोरी, बाढी र डुबानका दीर्घकालीन समाधानका विषयमा प्रधानमन्त्रीलाई जानकारी गराइएको थियो । छलफलमा नेकपा प्रदेश २ का इन्चार्ज सत्यनारायण मण्डल, अध्यक्ष प्रभु साह, सचिव सुमन प्याकुरेल, सांसद कल्याणी खड्का, रामेश्वर राय, सरला यादव, रेखा झा, जुलीकुमारी महतोलगायत सहभागी हुनुभएको थियो ।

सांसद जुलीकुमारी महतोले नदी कटानका क्षेत्रमा तत्काल तटबन्धन, तराईमा रहेको डुबान समस्याको दीर्घकालीन समाधानजस्ता विषयमा कुराकानी भएको बताउनुभयो ।

त्यस्तै, नेकपा प्रदेश २ का सचिव सुमन प्याकुरेलले चुरे र महाभारत क्षेत्रमा बढ्दो वन विनाश, विकासका नाममा जथाभावी कच्ची सडक निर्माण, पर्यावरणको ख्याल नगरी खोलिएका क्रसर उद्योगले तराईमा कटान र पुरुवा समस्या निम्त्याएको बताउनुभयो ।

उहाँले छिमेकी राष्ट्रले सडकका नाममा निर्माण गरेको ड्यामका कारण डुबान समस्या रहेकाले त्यसको दीर्घकालीन समाधानको बाटो पहिल्याउनसमेत प्रधानमन्त्रीसँग आग्रह गरिएको बताउनुभयो ।

उहाँले विदेशबाट फर्केपछि तराईको समस्यालाई आफ्नै आँखाले हेर्ने इच्छा प्रधानमन्त्रीले राख्नुभएको बताउनुभयो । प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै प्याकुरेलले भन्नुभयो, “बाढी र डुबानको समस्यालाई सरकारले विशेष सम्बोधन गर्नेछ । म आफैँ बाढीपीडितको बीचमा आउनेछु । ” यो खबर गोरखापत्रबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *