राष्ट्रिय एकता दिवस भव्य रुपमा मनाउन र सार्वजनिक बिदा दिन कमल थापाको प्रधानमन्त्री ओलीसँग माग

Sharing is caring!

पुस २६, २०७५ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भोलि राष्ट्रिय एकता दिवस देशव्यापी भव्य रुपमा मनाउन र उक्त दिन सार्वजनिक बिदा दिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् । उनले भने,‘पृथ्वीनारायण शाहको एकीकरणको योगदानलाई राजनीतिक आस्थासँग जोडेर हेर्नुहुँदैन् । एकीकरणको गौरव र ईतिहाँस कहिल्यैपनि परिवर्तन हुँदैन्।’

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै अध्यक्ष थापाले भोलि राष्ट्रिय एकता दिवस भव्य रुपमा मनाउन आग्रह गरेका छन् । उनले भने,‘पृथ्वीनारायण शाहको राष्ट्रिय एकीकरणलाई अपव्याख्या गरेको पनि पाउँदछौं । शाहले एकीकरण गरेको होईन, गोरखा विस्तार गरेका हुन भनेर व्याख्या गरेको पनि पाईयो । तर, दुवैको परिणाम एउटै हो–आधुनिक नेपाल निर्माण । नेपाली हुँ भनेर गर्व गर्ने प्रत्येक नेपालीले उहाँलाई सम्मान गर्नुपर्छ ।’

उनले भारतमाजस्तै नेपालमा पनि ब्रिटिश साम्राज्यको प्रभाव पार्न खोजिएको भएपनि पृथ्वीनारायण शाहले उनीहरुको षड्यन्त्र असफल पारिदिएको स्पष्ट पारे । उनले भने,‘१७६७ मा सिन्धुलीगढीमा अंग्रेज सेनाहरुलाई पराजित गरेर पृथ्वीनारायण शाहले नेपाललाई स्वतन्त्र राष्ट्र बनाउनुभयो ।’

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका थापाले अहिले राष्ट्रिय एकता कमजोर भएको र राष्ट्रिय पहिचान पनि संकटमा परेकोमा चिन्ता व्यक्त गरे । उनल भने,‘मुलुकमा राष्ट्रिय अखण्डता, स्वतन्त्रता र एकतालाई अक्षुण राख्नको लागि पृथ्वीनारायण शाहबाट प्रेरणा लिनुपर्छ ।’ आफ्नो पार्टीले प्रत्येक वर्ष पुष २७ गते देशव्यापी रुपमा राष्ट्रिय एकता दिवस मनाउँदै आएको पनि उनले सुनाए । उनका अनुसार राप्रपाले भोलि काठमाडौंको राष्ट्रिय सभागृहमा दिउँसो १ बजेदेखि ३ बजेसम्म चियापान राखेको छ ।

फरक प्रसँगमा उनले आफ्नो पार्टी राप्रपाले नेपाललाई हिन्दूराष्ट्रको रुपमा पूर्नस्थापन गर्न माग राखेर आगामी फागुण ७ गतेबाट जनसंघर्ष गर्न लागेको पनि जनाए । फागुण ७ गते केन्द्रमा प्रधानमन्त्री र प्रदेशमा ७ वटै प्रदेशका मुख्यमन्त्रीहरु र ७७ वटै जिल्लाका सिडिओहरुलाई हिन्दूराष्ट्र पूर्नस्थापनाको माग राखेर ज्ञापनपत्र बुझाउने कार्यक्रमसमेत तय भैसकेको थापाले सुनाए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *