मोबाइल खर्च मासिक पाँच सय

Sharing is caring!

असोज १९, २०७५ ।  नेपालीले मोबाइल फोनका लागि औसत मासिक चार सय ९१ रुपैयाँ खर्च गर्ने पाइएको छ। लर्न एसिया, इन्टरनेट सोसाइटी अफ नेपाल र सेन्टर फर ल एन्ड टेक्नोलोजीको अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो। प्रतिवेदनअनुसार नेपालीले मोबाइल फोनमा मात्र वार्षिक एक खर्ब २३ अर्ब रुपैयाँ खर्च गर्छन्।

नेपालमा मोबाइको पहुँचबारे गरिएको अध्ययनले यस्तो निष्कर्ष निकालेको हो। नेपालमा कुल जनसंख्याको ७२ प्रतिशतले मोबाइल फोन प्रयोग गर्ने अध्ययनले देखाएको छ। कुल जनसंख्याको ७२ प्रतिशत भन्नाले दुई करोड १० लाख २५ हजार हुन आउँछ। दुई करोड १० लाख २५ हजारलाई मासिक चार सय ९१ रुपैयाँका दरले हिसाब गर्दा नेपालीको मोबाइलमा वार्षिक खर्च एक खर्ब २३ अर्ब रुपैयाँ हुन्छ। अध्ययनअनुसार नेपालमा १५ देखि ६५ वर्ष उमेर समूहका ७२ प्रतिशत मानिस मोबाइल प्रयोग गर्छन्। अध्ययनले नेपालको ग्रामीण र सहरी क्षेत्रबीच मोबाइल प्रयोग गर्नेको फरक १५ प्रतिशत देखाएको छ।

राजधानीमा बिहीबार नेपालसहित १८ देशमा गरिएको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै लर्न एसियाकी प्रमुख कार्यकारी अधिकृत हेलानी गालपायाले नेपालीमध्ये ५२ प्रतिशतले स्मार्टफोन र ४० प्रतिशतले साधारण मोबाइल फोन प्रयोग गर्ने बताइन्। ‘अध्ययनमा ४० प्रतिशतले साधारण फोन प्रयोग गर्ने र त्यसमा इन्टरनेटको पहुँच नभएको पाइएको छ, जुन विशेषगरी वृद्धवृद्धाले वा इन्टरनेटबारे थाहा नहुनेले बोकेको देखिन्छ’, गालपायाले भनिन्। प्रतिवेदनअनुसार नेपालमा मोबाइल प्रयोगका आधारमा लैंगिक असमानता एसियामा नै कम छ।

सेन्टर फर ल एन्ड टेक्नोलोजीका अध्यक्ष बाबुराम अर्यालका अनुसार नेपालमा महिला र पुरुषबीच मोबाइल फोन प्रयोगको भिन्नता १९ प्रतिशत मात्र छ। उनका अनुसार नेपालमा मोबाइल फोन बोक्नेमध्ये ६० प्रतिशत मानिससँग आम्दानीको कुनै स्रोत नै छैन। उनीहरूले अन्य कसैले उपहारमा दिएको वा किनिदिएको मोबाइल प्रयोग गर्ने अध्ययनले देखाएको छ।

तिवेदनअनुसार नेपालमा ४६ प्रतिशत मानिसलाई मात्र इन्टरनेटबारे जानकारी छ। युवा समूहमा भने इन्टरनेटबारे अन्य मुलुकको तुलनामा निकै बढी चेतना छ। यस्तै पुरुषको तुलनामा ३३ प्रतिशत महिलाले मात्र इन्टरनेट प्रयोग गरेका छन्। नेपालमा इन्टरनेट प्रयोग गर्नेमध्ये ७७ प्रतिशतले विभिन्न सामाजिक एप्लिकेसन प्रयोग गर्ने देखिएको छ। एपमध्ये नेपाली सबैभन्दा बढी फेसबुक चलाउँछन्। दोस्रोमा म्यासेजिङ तथा च्याटिङ एप छ। यस्तै तेस्रो नम्बरमा भाइबर, ह्वाट्सएप जस्ता भीओआईपी एप रहेको अध्ययनले देखाएको छ।

इन्टरनेटमा पहुँच भएकामध्ये १२ प्रतिशत नेपालीले सार्वजनिक निःशुल्क वाइफाइ प्रयोग गर्दछन् भने १६ प्रतिशतले शुल्क तिरेर वाइफाइ प्रयोग गर्छन्। नेपालमा कुल ४६ प्रतिशतले मात्र वाइफाइ प्रयोग गर्ने गरेको तथ्यांक छ। उक्त अध्ययन प्रतिवेदनअनुसार मोबाइल फोन प्रयोग गर्ने साथै इन्टरनेटमा पहुँच भएका मध्ये ५९ प्रतिशत नेपालीले सामाजिक सञ्जालमा आएका समाचारमा विश्वास गर्ने गरेका छन्। ४२ प्रतिशतले सामाजिक सञ्जालका समाचार सेयर गर्ने गरेको र ४८ प्रतिशत नेपालीले सामाजिक सञ्जालको समाचार सेयर गर्नु अगाडि विचार गर्ने गरेका प्रतिवेदनमा उल्लेख छ।

संस्थाका अनुसार यो अध्ययका लागि नेपालका विभिन्न सहर तथा ग्रामीण भेगमा दुई हजारभन्दा बढी मानिससँग कुराकानी तथा प्रश्नोत्तर गरिएको थियो। उसले भारत, पाकिस्तान, बंगलादेशसहित विभिन्न १८ देशमा यस्तै सर्वेक्षण गरेको छ।यो खबर आजको अन्नपूर्ण पोस्टबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *